भुवनेश्वर, ८ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ ।
युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत यसको घोषणा गर्दै भनेको छ, ‘यो कदमले प्रकृति जस्ता थुप्रै होनहार विद्यार्थीलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ ।’
केआईआईटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले हालै नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेर प्रकृतिको न्यायका लागि छलफल गरेका थिए ।
२० वर्षीय प्रकृति लम्साल जुन गत आइतबार अपराह्न मृत अवस्थामा पाईएको थियो । उनले यसअघि कलेजमा एक विद्यार्थीबाट मानसिक यातनाको शिकार भएको बताउँदै कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेज प्रशासनले यसलाई गम्भीरतासाथ लिएको थिएन ।
उनको मृत्युपछि कलेजमा तनाव सिर्जना भएको थियो । विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । यद्यपि, युनिभर्सिटी प्रशासनले उल्टै प्रदर्शनकारी विद्यार्थीहरूलाई दमन गर्न सुरु गरेको थियो ।
कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
केआईआईटीमा भएको तनावको कारण कम्तीमा १११ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । कलेजले यी विद्यार्थीहरूको घर फर्कनका लागि इमेल पठाएको छ ।