जनकपुरधाम, ८ फागुन । विशेषज्ञ फिजिसियन चिकित्सकहरुको संगठन सिमोनको छैटौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा हुने भएको छ ।
सो सम्मेलन सिमोनको आयोजनामा र मधेश प्रदेश च्याप्टरको स्थानीय व्यवस्थापनमा शुक्रबारदेखि शनिवारसम्म दुई दिनसम्म सञ्चालन हुनेछ ।
सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव र स्थानीय आयोजन समितिका सचिव रमण मिश्रले सम्मेलनको विस्तृत जानकारी दिँदै भने, ‘यो सम्मेलन चिकित्सकहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सकहरु यसमा सहभागि हुनेछन् ।’
सम्मेलनको क्रममा ५० वटा लेक्चर र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । मिश्रका अनुसार यो सम्मेलन पहिलो पटक जनकपुरधाममा आयोजना गरिएको हो ।
यसअघि नेपालका विभिन्न भागमा यसको आयोजना हुँदै आएको थियो ।सम्मेलनमा भाग लिनका लागि देशभरका लगभग साढे दुर्य सय भन्दा बढी चिकित्सकहरुले अनलाइनमार्फत रजिष्ट्रेशन गराइसकेका छन् । रजिष्ट्रेशनको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
सम्मेलनमा नेपालभरिका चिकित्सकहरुले तयार गरेका शोधपत्र र नयाँ अनुसन्धानहरूको प्रस्तुतिकरण गरिनेछ । यसले चिकित्सकहरुको ज्ञानमा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।
सिमोनको छैटौं राष्ट्रिय सम्मेलनले चिकित्सकहरुको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने अपेक्षा गरिएको छ ।