काठमाडौं, ६ फागुन । संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले ९१० बिघा जग्गा अतिक्रमण भएको र त्यसको उपयोगमा आएको समस्या सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
समितिका संयोजक शेखरप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन प्रस्तुत गर्दै विश्वविद्यालयको विद्यमान जग्गा, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन आवश्यक कदमका विषयमा सुझाव दिएका हुन् ।
समितिले १ हजार ६ सय ६२ बिघा कुल जग्गामा ९१० बिघा अतिक्रमण भई २०५९ देखि कुनै आम्दानी नकमाएको तथ्य प्रस्तुत गरेको हो ।
विश्वविद्यालयको दाङस्थित देउखुरी क्षेत्रमा १ हजार ३ सय ३६ बिघा जग्गा रहेको र त्यस मध्येको ९१० बिघा अतिक्रमणमा परेको जानकारी प्रधानमन्त्री ओलीलाई दिइएको छ ।
समितिले विश्वविद्यालयको जग्गा पुनः उपयोगमा ल्याउन लिजमा दिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलहरूको सहयोगको आवश्यकता रहेको सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिएका छन् । उनले विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमणजस्ता समस्याहरूलाई रोक्न जोड दिए ।