भुवनेश्वर, ६ फागुन । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिको गम्भीरतासँग सामना गर्दै ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
ओडिसा प्रदेश सरकारको सूचना र जनसम्पर्क विभागले यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन समिति गठनको जानकारी दिएको हो ।
समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला र बालविकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सहसचिव सदस्यको रूपमा रहने जनाइएको छ ।
प्रकृति लम्सालको मृत्युपछि विद्यार्थिहरूसँग भएको दुव्र्यवहार र कलेज प्रशासनद्वारा गरिएको बल प्रयोगका घटनाहरू पनि सार्वजनिक भएका छन् ।
उक्त घटनासम्बन्धी अनुसन्धान भइरहेको र कानूनी कारवाही गरिने कुरा विभागका निर्देशकले उल्लेख गरेका छन् । साथै, कलेजलाई पनि यसबारे जानकारी दिइएको र छानबिन समितिका निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारवाही गरिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्दै भनिएको छ, ‘ओडिसा सरकारले विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित कदम चाल्नेछ र सबैलाई न्याय दिलाउन आवश्यक कदमहरू चालिनेछ ।’
प्रकृति लम्साललाई आफ्ना सहपाठीबाट मानसिक यातना दिइएको दाबी गर्दै उनले कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेज प्रशासनले यसलाई गम्भीरतासाथ लिएको थिएन ।
मृत्युको घटनापछि केआईआईटीका विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेका थिए । यद्यपि, कलेज प्रशासनले प्रदर्शन गरिरहेका विद्यार्थीहरुमाथि बल प्रयोग गरी दमन गरेको आरोप छ । कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको घटनाका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
यस विषयमा मंगलबार दिउँसो ओडिसा विधानसभामा पनि प्रश्न उठेको थियो । यस घटनाको छानबिनका लागि उच्चस्तरीय समितिको गठन गरिएको छ ।