काठमाडौं, ६ फागुन । २ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका गोरखपुर र फत्तेपुरका विभिन्न व्यक्तिहरू रहेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखपुरका २२ वर्षीय एमडी आरिफ हुसेन, ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र बुढानिलकण्ठको प्रहरी प्रभागको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका यी चार भारतीय नागरिकहरूले काठमाडौंको तौलुङ क्षेत्रमा एक घर भाडामा लिएर अनलाइन जुवा र सट्टेबाजी सञ्चालन गर्दै थिए । उनीहरूले २ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा सञ्चालन गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले घटना पुष्टि गर्दै भने, ‘प्रहरी टोलीले जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रणमा लिन केही समयअघि विशेष अनुसन्धान थालेको थियो ।’
पक्राउ परेका चार भारतीय नागरिकविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।