जनकपुरधाम, ९ पुस । आज विश्वभर क्रिसमसको उत्सव मनाइरहेका बेला जनकपुरधामस्थित विभिन्न हिन्दूवादी संघसंस्था एवम् विद्यालयहरूले तुलसी पूजन दिवस मनाएका छन् ।

सोमबार यहाँस्थित विश्व हिन्दू परिषद नेपाल, मोडर्न नेपाल स्कुल, यूरेका इन्टरनेशनल हाइ स्कुललगायतकाले तुलसी पूजन दिवस मनाएका हुन् ।

विश्व हिन्दू परिषद नेपालले जानकी मन्दिर परिसरमा सयौं तुलसीको वोट वितरण गर्दै रत्नसागरस्थित पशुपति शिक्षा मन्दिर र यात्री निवासमा तुलसी पूजन समारोहको आयोजनासमेत गरेको छ ।

यता, मोडर्न नेपालका प्रधानाध्यापक तथा एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दीपक ठाकुरले अन्य विद्यालयलाई समेत तुलसी पूजन दिवस मनाउन आग्रह गरेका हुन् ।

हिन्दू धर्ममा तुलसीको पूजा गरिन्छ । यसलाई धेरै मानिसले आफ्नो घरको आँगनमा पनि रोप्ने गरेका छन् । हिन्दु धर्ममा आस्था राख्ने कयौँ मानिस हरेक दिन पनि तुलसीको बोटमा पूजा गर्छन् ।

तुलसी पूजन दिवसको शुरुवात सन् २०१४ मा धर्मगुरू आसारामले गरेका थिए । आसाराम अहिले बलात्कारको मुद्दामा जेलमा छन् ।

ठाकुरले भनेका छन्, ‘तुलसीको महत्वको वर्णन हाम्रो शास्त्रमा र विज्ञानमा पनि छ । स्कन्द पुराणमा तुलसीको बोटमा पूजा गरिने घरमा यमदूत प्रवेश गर्न सक्दैनन् भनिएको छ ।’ उनले तुलसीको विरुवा एक अभियानकै रुपमा हरेक घरमा लगाउन आग्रहसमेत गरेका छन् ।

तुलसी पूजन दिवस सोमबार सामाजिक संजालको ट्रेन्ड्समा पनि देखियो । कट्टर हिन्दुत्वको कुरा गर्ने मानिसले यसको महत्त्व वर्णन गर्दै सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन् ।

यूरेकाका संचालक राजकुमार झा भन्छन्, ‘म हिन्दू हुँ, ईसाई होइन अनि किन क्रिसमस मनाऊँ । यो देश सन्टाको होइन, सन्तहरुको हो, ऋषि मुनिको हो । यहाँ कोही सन्टा आउँदैन । यहाँ विवेकानन्द, दयानन्द, दधीचि, शंकराचार्य आउँछन् । यहाँ कोही जिसस आउँदैन, यहाँ त राम, कृष्ण, माता भवानी आउँछिन् ।’

फेसबुकमा धेरै मानिस २५ डिसेम्बरमा क्रिसमसको विकल्पमा तुलसी पूजा दिवस मनाउन आह्वान गरिरहेको देखियो ।