धनुषाका एक वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध मुद्दा दायर


जनकपुरधाम, ८ पुस । धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र हंसपुर नगरपालिकाका एक तत्कालिन वडाध्यक्षसहित चारजनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी र हंसपुर नगरपालिका वडा नम्बर-१ का तत्कालीन वडाध्यक्ष कामेश्वर कापरलगायत चारजनाविरूद्ध मुद्दा दायर गरिएको हो ।
हंसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कि.नं. ३३० को सार्वजनिक पोखरीलाई वडाध्यक्ष कापरले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो ।
कापरले सो पोखरी ठेक्काबापत आफूले बुझेको दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार रूपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा सो नगरी नगरपालिकालाई हानिनोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।
कापरले वडाको लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको गलत व्यहोरा खुलाएर गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुनसमेत मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै, ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले सोही पोखरी ठेक्कावापत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी नगरपालिकालाई हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।
उनीहरू दुबैजनालाई समेत सोही रकम बराबरको बिगो कायम गरी ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत हुन मागदाबी लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले कार्यपालिकाको बैठकको निर्णयमा नभएको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अधिकारीले सच्याइएको सरकारी कागजलाई सक्कल हो भनी प्रमाणित गरेर गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएकोले उनलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
