गौशालाकी उपप्रमुख महतोले प्रयोग गर्ने सरकारी सवारीमा आगजनी


जनकपुरधाम, ८ पुस । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सरकारी सवारीमा शनिबार राति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगरस्थित उपप्रमुख महतोको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको हो ।
उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । गाडीको टायर बलेर गन्हाएपछि गाडीमा आगो लागेको छिमेकीले थाहा पाएका थिए । आगो लागेको केहीबेरमै छिमेकीले देखेका कारण गाडीको पछाडिको टायर र केही बाहिरी भागमा मात्र क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । स्थानीयले नै आगो निभाएका थिए ।
यता उपप्रमुख महतोले गौशाला नगरपालिकाका कर्मचारी र जनप्रतिनिबाटै आफू असुरक्षित भएको बताएकी छन् । कार्यकक्षमै आक्रमण, कार्यपालिका बैठकमा जनप्रतिनिधिबाटै हातपातको प्रयास हुनु, गाडीको चालकलाई बिना जानकारी हटाउनु र गाडीमा आगो लगाउने घटनाले आफू असुरक्षित भएको महतोले बताइन् । गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट नगरप्रमुख निर्वाचित डा. दीपेन्द्र महतो र उपप्रमुख रेनुकुमारी महतोबिचको द्वन्द्वका कारण प्रमुखका आफन्तले केही समय अघि कार्यकक्षमै गएर हातपात गर्न खोजेका थिए । उपप्रमुख महतोलाई कार्यकक्षमै भौतिक आक्रमण गर्दा गाडी चालकले बचाएका थिए । कार्यकक्षमा उपप्रमुखलाई आक्रमणबाट बचाएको भन्दै नगरप्रमुखले वडाध्यक्षहरूलाई बोलाएर उपप्रमुखका गाडी चालक नरेन्द्र महतोलाई साउन २८ गते हटाउने निर्णय गरी गाडी खोस्ने प्रयास गर्दा दुई पक्षबिच झडप समेत भएको थियो ।
एउटै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुख बिचको द्वन्द्वका कारण कार्यालयको बैठक वा सार्वजनिक कार्यक्रमहरुमासँगै बस्दा समेत बोलचाल हुँदैन । निर्वाचनमा सँगै हात जोडेर मत मागेका नगरप्रमुख र उपप्रमुख निर्वाचित भएदेखि सुरु भएको मनमुटाब अहिलेसम्म जारी नै छ ।
गौशाला नगरपालिका–२ मा निर्माणधिन धर्माशाला निर्माण रोक्का सम्बन्धी जिल्ला प्रशासन कार्यालय महोत्तरीको पत्र पाएर अनुगमन गरेको र वडाध्यक्षलाई छलफलका लागि बोलाएकी उपप्रमुखलाई नगरप्रमुखको भाइ नातामा पर्ने आफन्तले अनुमति बिना गाउँमा जान नमिल्ने भन्दै आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्नहरु विरुद्ध जिल्ला प्रशासनमा मुद्दा दर्ता छ । आफन्तमाथि मुद्दा लागेपछि नगरप्रमुखले उपप्रमुखमाथि मुद्दा दर्ता गराउन कर्मचारीलाई नै प्रयोग गर्न खोजेको एक अधिकृतले बताए । योजनाको फाइलका विषयमा कर्मचारीलाई कुटपिट गरेको भन्दै प्रमुखकै योजनामा कर्मचारीले आन्दोलन समेत गरे । उपप्रमुख महतोले नदी उत्खनन् अनुगमन, नदी उत्खनन् ठेक्का, बजार ठेक्का, भवन निर्माण अनुगमनमा कडाइ गर्दा नगरप्रमुखसँग द्वन्द्व बढेको हो ।
गौशाला नगरपालिका–१ मा इन्जियरिङ भवन निर्माणमा अख्तियारले कर्मचारी र जनप्रतिनिधिसँग जवाफ मागेको छ । योजनामा पटकपटक भुक्तानी भएको र अध्ययनका लागि फाइल माग्दा फाँटका कर्मचारी र प्रमुख प्रशासकिय अधिकृतले फाइल दिन आलटाल गरेको उपप्रमुख महतोले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
