जनकपुर, पुस ५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए ।

सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए । यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । उनले भने, ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस् ।’

यस्तै सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । कानुन मन्त्री समेत रहेका गुरुङले भने, ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन ।’ मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए ।

उनले भने, ‘सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ ।’