जनकपुरधाम, मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधवार फूलबारी लिला मनाइएको छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । बुधवार साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अवलोकन गराइएको हो ।

यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको मान्यता छ ।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्नेछ।

भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिलकोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर एवम् पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ । विवाहपञ्चममीमा जन्तीको रुपमा आएका साधुसन्तको पुस २ गते विदाई गरी (रामकलेवा) गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

फोटोफिचर :-

तस्बिरहरू : पत्रकार घनश्याम मिश्र