जनकपुरधाममा आजदेखि विद्यालय स्तरीय रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु


जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा आजदेखि दोस्रो संस्करणको विद्यालय स्तरीय रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजनामा विद्यालय स्तरीय रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।
जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको एनप्यावसन धनुषाका अध्यक्ष तथा जिल्ला क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए ।
एनप्यावसनमा आवद्ध १२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको उनले बताए । उनले पहिलो संस्करणमा ८ वटा टिम मात्रै सहभागी रहेकोमा दोस्रो संस्करणमा १२ वटा टिम सहभागी रहेको जानकारी दिए ।
आज पहिलो दिनको पहिलो खेल धनुषा पब्लिक स्कूल र श्रीराम सेकेण्ड्री बोर्डिङ्ग स्कूलबिच हुँदैछ । खेलमा टस जितेर धनुषाले फिल्डिङ्ग रोजेको छ ।
झाले प्रतियोगिताबाट प्रतिभावान खेलाडीको टिम बनाएर प्रशिक्षण दिइने र राम्रा १५ जना खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति दिने तयारी रहेको बताए ।
प्रतियोगितामा सहभागी प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने र विजेता तथा उपविजेता टिमलाई आकर्षक कप र प्रमाणपत्र दिइने उनले बताए ।
जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्तरको प्रतियोगिता जितेको हो ।
तस्बिरहरु : पत्रकार घनश्याम मिश्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
