-ज्योति झा

जनकपुररधाम, २७ पुस । पत्रकारितालाई राज्यको चाैथाे महत्त्वपुर्ण अंग मानिएको छ अरे..! तर, कामका लागि हो कि मात्र नामका लागि भन्ने कुरामा म असमञ्जसमा छु ।

प्रायः हरेक पेशामा काम गर्ने एउटा निश्चित समयअवधि तोकिएको हुन्छ । बिहान ९ देखि साँझ ६ अथवा १० देखि ५ बजेसम्म । जे होस् समयको एउटा निश्चित सिमा हुन्छ । तर, पत्रकारको कामको कुनै निश्चित समय सिमा हुँदैन । न समयको कुनै ठेकान । न खानपानको ठेकान । न परिवारसँगको घुमघाम । हुन्छ भने त्यो हो मात्र काम काम र काम ।

कहाँ के भयाे, कुन घटना घट्यो, घटनाका दोषीको खोजी भयो कि भएन, कसले कुन शीर्षकमा कति झ्वाम्म पारेलगायतका थुप्रै घटनाहरूको खोजी नै पत्रकारको दिनचर्या हुन्छ । पत्रकारको समाचारले धेरैले सहयोग पनि पाउँछन् भने कतिले त पत्रकारलाई धम्की दिनसमेत पछाडि हट्दैनन् ।

अर्को अनौठो कुरा के छ भने, जसले आफ्नै तलब पाइरहेको छैन, आधा तलबमा ओभरटाइम खटिरहेको छ, उही व्यक्ति दिनरात अरूकै सहयोग गर्न तम्तयार हुन्छन् । यहाँ जो व्यक्ति विशुद्ध पत्रकारिता गरेर आफू र आफ्नो घरपरिवारको जिवनयापन गरिरहेका छन् उनलाई धेरै नै अप्ठ्यारो छ । तर, जो व्यक्ति पत्रकारिता कम र पर्चाकारिता बढी गरिरहेका छन् उसको भने जय जय देख्छु । प्रेस कार्डको आडमा पत्रकारिताबाहेक सबथोक गरिरहेका केहिका लागि त यो पेशा अवसरै अवसरले भरिभराउ छ । र पनि उसैले फेरि शुद्धीकरणको नारा लगाइरहेको हेर्छु ।

तर, जसले पत्रकारिता गर्दागर्दै आफ्नो ज्यान गुमाइसके उनको न्यायका लागि यहाँ कसैले केहि गरेनन् । उनको नाम भजाएर रोटी सेक्नुबाहेक र फेक पब्लिसिटीबाहेक कसैले केहि गर्न सकेनन् ।

तसर्थ जिवीत रहेसम्म पत्रकारको मैले न त ज्यानको सुरक्षा देख्छु न त मृत्युपश्चात परिवारलाई न्याय । पाइन्छ भने त्यो हो बर्षमा एकपटक स्मृति दिवसको याद र श्रद्धाञ्जली । जसका एक उदाहरण हुन् सहिद पत्रकार स्वर्गीय उमा सिंह ।

उमा सिंहको घर सिरहा जिल्लाको मिर्चैया हाे। उनी जनकपुरको रेडियोमा काम गर्थिन् । शान्त व्यवहारकी उनी जनकपुरको रजौलमा कोठा भाडा लिएर बस्थिन् ।

२०६५ पुस २७ गते उनको हत्या गरिएको थियो । रेडियोमा समाचार वाचन गरेर डेरा फर्केकी उनलाई १०/१५ जनाको नाकावधारी समूहले शरीरका कैयौं भागमा खुकुरी प्रहार गरेका थिए । रगतले भिजेकी उनलाई स्थानीयले केयर मेडिकल अस्पताल पुर्याए । तर, अत्यधिक रगत बगिसकेका कारण चिकित्सकले बचाउन सकेनन् ।

उनको हत्या यतिसम्म भयावह थियो कि पत्रकारिता जगतसँग सम्बन्ध राख्ने जो कोहीले पनि त्यो कालो साँझ अझै भुल्न सकेका छैनन् । बर्षमा एकपटक हामी सबैले उनलाई सम्झेकै छौं ।

सिंहको हत्या अगाडि नै उनका बुबा रंजित सिंह र दाइ संजय सिंह गाउँमै होटल संचालन गरिरहेका थिए । उनको बुबा र दाइलाई २०६३ भदौ १५ मा तत्कालीन माओवादीले अपहरण गरी बेपत्ता पारेका थिए।

उमा सिंहको हत्याअघि घरमा उनको बिहे गर्ने कुरा चलिरहेको थियो । सिंहकी आमा सुशीलाले केही जग्गा उमाकै नाउँमा राखेर बिहे गरिदिने सोचेकी थिइन् । तर उमाकी भाउजू ललिता विपक्षमा उभिन् । र उमाकै हत्या गराउने योजना बुन्न थालिन् ।

ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी पाउनका लागि उमेश, नेमलाल, चन्देश्वर, धनेश्वर, विजय, विन्दुसमेतको मिलोमतोमा उमाको हत्या गराएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।

सो समूहले उमालाई १ महिना अगाडि नै अपहरण गर्ने प्रयास समेत गरेको थियो । उनीहरूले सम्पूर्ण जग्गा भाउजू ललिताको नाममा दर्ता गरिदिन धम्की दिएका थिए ।

जग्गासम्बन्धी विवाद चल्दै गर्दा सिंहकी भाउजू ललिताले स्थानीय तत्कालीन माओवादी कमान्डर सुभाषमार्फत् उमेश यादवसँग कुरा गरी हत्याको योजना बनाको बताइएको छ । त्यतिबेला उमेश यादव तराई एकता परिषद्को केन्द्रीय अध्यक्ष थिए ।

धनुषा जिल्ला अदालतले पत्रकार सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादव भएको ठहर गर्दै उनलाई जन्मकैदको सजाय सुनाइयो ।

अदालतले २०६८ जेष्ठ २६ मा सिंहकी भाउजू ललिता सिंहलाई जन्मकैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको थियो । ललिता रिहा भएर मिर्चैयास्थित घरमा बस्दै आएकी छन् । अदालतले श्रवणकुमार यादवलाई पनि सफाई दिइसकेको छ । उनी थुनामुक्त भएर मिर्चैया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

देशको चौथो अंगको हत्या गरेका व्यक्ति कारागारमुक्त भई मेयरमा निर्वाचित भए ।

उमाले के साँच्चिकै न्याय पाइन् त? यसतर्फ सायदै कसैको चासो छ होला । तर, उमाको नाम भजाएर आफ्नो नाम कतिसम्म बनाउन सकिन्छ भन्नेतर्फ केही झुण्डहरू नै सक्रिय देखिन्छन् ।

हामी किन बिर्सिन्छौ कि भोलि कसैसँग पनि कुनै घटना घट्न सक्छ । तसर्थ भोलिको सन्ततिका लागि हामी राम्राे वातावरणको निर्माण गरौं । देशको चौथो अंगको सम्मान होस् भनी कामना गर्दै उमालाई मेराे तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली ।