जनकपुरधाम, १५ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दिनेश सिंहले वडा नम्बर-५ का वडाध्यक्ष बेचन साहमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।

सिंहले नेकपा एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा वडाध्यक्ष साहमाथि कुटपिट गरेको आरोप लगाइएको हो ।

मंगलबार नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा जनकपुरधामको १५ वटा वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूसँग आयोजित चुनावी छलफलमा खानपिनको विषयमा विवाद हुँदा वडा नम्बर-८ का वडाध्यक्ष दिनेश सिंह र वडा नम्बर-१ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका लव अधिकारीले एमालेबाटै निर्वाचित वडा नम्बर-५ का वडाध्यक्ष बेचन साहलाई कुटपिट गरेका छन् ।

एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि आयोजित बैठकपश्चात खानपिनको क्रममा सामान्य विवाद भएको थियो । सोही क्रममा वडाध्यक्ष सिंहले लवलाई निर्देशन दिँदै अर्का वडाध्यक्ष साहमाथि एक्कासी हातपात गर्न लगाएको  बैठकमा सहभागी नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका एक उम्मेदवारले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।

घाइते वडाध्यक्ष साह प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराएपश्चात अहिले घर फर्केका छन् ।

यस सम्बन्धमा बुझ्नका लागि अर्का वडाध्यक्ष सिंहलाई पटक पटक फोन गरेपनि उनले फोन रिसिभ गरेनन् ।