नगरप्रमुख साहविरुद्ध आन्दोलनरत वडाध्यक्षहरुले काठमाडौंमा गरे प्रदर्शन

जनकपुरधाम, १३ मंसिर । जनकपुरधामका नगरप्रमुख लालकिशोर साहविरुद्ध आन्दोलनरत वडाध्यक्षहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नियमित सरसफाइ नभएको र नगरको फोहोर नउठ्दा नगरक्षेत्र दुर्गन्धित भएपनि मेयर साहले सरसफइमा कुनै चासो नदेखाएको भन्दै आफूहरु काठमाडौैै पुगेर प्रदर्शन गर्न बाध्य भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।
उनीहरु माइतिघर मण्डलमा मेयर साहविरुद्ध प्रदर्शन गरेका हुन् । पाँच महिनादेखि मेयर साहले बोर्ड बैठक नगरेको, सरसफाइको गुहार लगाउँदा नसुनेपछि संघीय सरकारलाई घचघचाउन काठमाडौ पुगेर आन्दोलन गर्नु परेको वडाध्यक्ष साहले बताए ।
मंसिर ६ गते मेयर साहको कार्यकक्षमा वडाध्यक्षहरुले तालाबन्दी समेत गरेका थिए । सो ताला उनीहरु काठमाडौं गएको मौकाछोपी मेयर साह पक्षधर वडा नम्बर–१२ का वडाध्यक्ष सत्रुधन यादव लगायतले खोलेका छन् ।
वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले आफूहरु जनकपुर फर्केपछि त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

