काठमाडौं, २ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग शुक्रबारबाट सुरु हुने भएको छ । उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

दुवै क्लबले पहिलो खेलको लागि आफू तयार रहेको बताएका छन् । सातदोबाटो युथ क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको हो । विपक्षी टिमलाई मैदानमा पहिलो पटक खेल्न लागेको टिम जस्तो महसुस हुन नदिने प्रशिक्षक मेघराज केसीले बताए ।

यस्तै यसपटकको लिगमा सरप्राइज नतिजा निकाल्ने दाउमा पुलिस क्लब रहेको छ । टोलीका प्रशिक्षक अनन्त तामाङले उपाधि नै आफ्नो लक्ष्य रहेको बताएका छन् । विभागीय टीम आर्मी क्लबले पनि उपाधि जित्ने लक्ष्य राखेको छ । तयारी राम्रो भएको जनाउँदै क्लबका कप्तान भरत खवासले नवयुगको ठाउँ अरू खेलाडीले पुरा गर्ने बताए ।

न्युरोड टिमले पनि सहभागी सबै टीमलाई कडा चुनौती दिने बताएको छ । अर्को टोली एपीएफले आफ्नो पोजिसन सुधार्ने दाबी गरेको छ । जावलाखेल युथ क्लबको पाँचौं स्थानसम्म अटाउने लक्ष्य राखेको छ । डिफेन्डिङ च्याम्पियन मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले उपाधि रक्षा गर्न फरवार्ड धेरै राखेर खेल्ने बताए ।

युवा खेलाडीको बाहुल्यता रहेको च्यासल टोलीले टप फाइबसम्म पुग्ने लक्ष्य राखेको छ । युवा खेलाडी उत्साहित भए पनि अनुभव कम भएकाले धेरै ठुलो आश नराखेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । उनले लिगमा सन्तोष साहुखल पनि आउने बताए ।

पहिलेको नतिजा सुधार गर्दै, राम्रो फुटबल खेलेर राम्रो नतिजा निकाल्ने ब्रिगेड ब्वाइजले तयारी गरेको छ । ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले उच्च मनोबलका साथ टीम मैदान उत्रने बताए । मनाङ मर्स्याङ्दीको भने यसपटक उपाधि जिल्ने लक्ष्य राखेको छ । गत वर्षको गल्ती सुधार गर्दै तयारी राम्रो गरिएको प्रशिक्षक तथा कप्तानले बताएका छन् ।

थ्री स्टार क्लबका प्रशिक्षक उज्जवल श्रेष्ठले आफ्नो टीम उपाधि जित्ने दाउमा रहेको बताए ।