फिफा विश्वकपका लागि १३ राष्ट्रको स्थान सुरक्षित

एजेन्सी, १ मंसिर । आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।
युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’ बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ ।
यता, समूह ‘सी’ मा स्विजरल्याण्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’ बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाएको छ । यस्तै समूह ‘इ’ बाट बेल्जियमले स्थान बनाउँदा वेल्स र चेक रिपब्लिकले प्लेअफमार्फत् विश्वकपमा स्थान बनाउने मौका पाएका छन् ।
यता, समूह ‘एफ’ बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफ खेल्नेछ भने समूह ‘जी’ बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ ।
यस्तै समूह ‘एच’ मा क्रोएशियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ । यता, समूह ‘आई’ बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । यस्तै समूह ‘जे’ बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ ।
अब, १० समूहका १० र दुई नेसनल लिगका टोली गरी जम्मा १२ टोलीले प्लेअफमार्फत् विश्वकप खेल्ने मौका पाउनेछन् । जसबाट तीन टोलीमात्र विश्वकपमा स्थान बनाउनेछन् । मार्चमा हुने प्लेअफको खेलमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र जसको विजेताले विश्वकपमा स्थान बनाउनेछ ।
यता, एसिया र अमेरिकासहित अफ्रिकाको छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट भने ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

