सर्लाहीमा शैक्षिक भ्रमणको विषयमा विद्यार्थीबिच आपसमै झडप, दुईजना घाइते

जनकपुरधाम, १ मंसिर । सर्लाहीमा शैक्षिक भ्रमणको विषयमा विद्यार्थीहरुबिच आपसमै झडप हुँदा दुईजना घाइते भएका छन् ।
बुधबार शैक्षिक भ्रमणमा जाने/नजाने विषयमा विद्यार्थीको दुई गुटबिच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
कुटपिटबाट सोही ठाउँ बस्ने कक्षा १० मा अध्ययनरत १५ वर्षीय विद्यार्थीद्वय सुनिल राय र अर्जुन माझी गम्भीर घाइते भएको उनले बताए ।
सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर–५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुबिच शैक्षिक भ्रमणमा जाने/नजाने विषयमा आपसमै विवाद भएको एसपी प्रसाईंले बताए ।
प्रत्येक वर्ष सो विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा गईरहेपनि यसवर्ष भ्रमणकै विषयलाई लिएर विद्यार्थीहरु दुई गुटमा विभाजित भएका थिए । एक पक्ष भ्रमणमा जाने र अर्को पक्ष नजाने भन्दै आपसमै विवाद गर्दै आईरहेका थिए । सोही क्रममा बुधबार भ्रमणमा नजाने पक्षमा रहेका विद्यार्थीहरुको समूहले भ्रमणमा जाने पक्षमा रहेका विद्यार्थीलाई कुटपिट गरेको उनले जानकारी दिए ।
गम्भीर घाइते भएका विद्यार्थीद्वय राय र माझीलाई थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ ।
सो विद्यालयमा विद्यार्थीहरुबिच आपसमा विवाद हुँदा दुई दिनदेखि पठनपाठन समेत प्रभावित बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

