महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन !’

–विनय यादव
सिरहा, १ मंसिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेसँगै राजनीतिक वृत्तमा विभिन्न खाले बहसहरु सुरु भएका छन् ।
नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा दिन गत आइतबार नै निर्देशन दिएपनि उनले मानेका थिएनन् ।
मन्त्री रायले राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले मंगलबार उनलाई बर्खास्त नै गरिदिए । रामनरेश भने प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए ।
जसपामा विवादका बेला उनी महन्त ठाकुर पक्षको कित्ता फेरेर मन्त्री पद जोगाएका थिए । तर, अहिले आएर किन र प्रमुख सत्तारुढ दलकै नेता भएपनि कसरी उनलाई पदमुक्त गरियो भन्ने बहस राजनीतिक वृत्तमा भइराखेको छ ।
श्रोतका अनुसार, उनलाई अहिलेको संघ सरकारमा कृषि तथा पशुपंक्षी मन्त्री रहेका महेन्द्रकै सहमतिमा बर्खास्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गर्दा जसपा सांसद प्रमोद साहको नाम हटाएर अन्त्यमा उनको नाम राखिएको थियो ।
त्यही बेला महेन्द्रले आफूलाई मन्त्री दिने भए प्रदेशबाट आफ्नो कोटामा रहेका मन्त्री फिर्ता बोलाउने सहमति गरेको पार्टी श्रोतको भनाइ छ । अहिले आएर रामनरेशले राजीनामा नदिँदा महेन्द्रलाई नै मार्ग प्रशस्त गर्न दबाब आएपछि आफ्नो पद जोगाउन उनकै आग्रह र सहमतिमा रामनरेशलाई बर्खास्त गरिएको श्रोतले बतायो ।
मन्त्रीबाट हटाइएका रामनरेश यतिखेर महेन्द्रसँग आक्रोशित बनेका छन् । यद्यपि यस विषयमा भने प्रतिक्रिया लिन पटकपटक फोन गर्दा पनि उनको फोन उठेन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

