मन्त्री यादवको अडानका कारण जनकपुरका कयौं वडामा नेतृत्व चयनमा विवाद !

जनकपुरधाम, ३० कार्तिक । नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत धनुषाको अधिकांश स्थानीय तहका वडाहरूमा सहमतिमै नेतृत्व चयन भइरहँदा एकजना प्रदेश मन्त्रीको अडान र हटका कारण जनकपुरमा भने कयौं वडामा नेतृत्व चयनमा विवाद सिर्जना भएको आरोप लगाइएको छ ।
प्रदेश २ नेपाली काँग्रेसको संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफ्नो आसेपासेलाई जर्बजस्ती नेतृत्व दिने प्रयास गरेपछि कयौँ वडाहरुमा अधिवेशन प्रभावित भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ मा एक पक्षले निर्वाचन जितिसकेपनि मन्त्री यादवको हस्तक्षेपका कारण पुनः विवाद सिर्जना भएको छ । त्यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३, ५ र ६ मा समेत वडा अधिवेशन मन्त्री यादवकै कारण स्थगित भएको आरोप काँग्रेसी कार्यकर्ताहरुको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धीमा भएको वडा अधिवेशनमा मन्त्री यादव पक्षधरले अधिवेशन बहिस्कार गरेपछि निर्वाचन अधिकृत देवेन्द्र यादवले राघवेन्द्र साहलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्यस लगत्तै चुनावमा धाँधली भएको भन्दै मतदान बहिस्कार गरेका वडा सभापतिका उम्मेदवार रामनन्दन चौधरीले बखेडा खडा गरेको वडा सचिव नरेशप्रसाद साहले आरोप लगाए ।
उनका अनुसार चौधरीले आफ्नो निजिघरमा मतदान गराउन भनेको र आफूहरुले नमानेपछि सार्वजनिक स्थलमा मतदान गराइएका कारण मतदान प्रक्रिया नै उनले बहिस्कार गरे । वडा नम्बर–२३ मा भएको मतदानमा कुल ११९ सदस्यमध्ये ६५ मत राघवेन्द्र साहको पक्षमा परेको थियो । आफूले बहुमतभन्दा बढी मत ल्याएपछि निर्वाचन अधिकृतले जिल्ला सभापतिसँग कुरा गरेर निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको निर्वाचित वडा सभापति राघवेन्द्र साहले जानकारी दिए ।

मन्त्री रामसरोज यादव नजिकको उम्मेदवार मानिएका चौधरीले पार्टी कार्यालयमा तोडफोड गरेर, निर्वाचन अधिकृतसंग दुव्र्यवहार गरेर प्रजातन्त्रको उपहास गरेको साहले आरोप लगाए । उनीहरुले मंगलबार जनकपुरधामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भेला भई मन्त्री यादवविरुद्ध नारावाजी समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

