मन्त्रीकै वडामा रोकियो वडा अधिवेशन

जनकपुरधाम, २९ कार्तिक । धनुषाको अधिकांश स्थानीय तहका वडाहरूमा सहमतिमै नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइरहँदा प्रदेशका एक मन्त्रीकै वडामा भने अधिवेशन स्थगित भएको छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको दुई वडामा अधिवेशन स्थगित भएको हो । साविकको बहेडाबेला र हाल मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३, ५ र ६ मा वडा अधिवेशन हुन नसकेको बताइएको छ ।
मन्त्री यादवले त्यहाँका काँग्रेसका पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ । वास्तविक कार्यकर्तालाई काखापाखा गरी नातागोतालाई प्रश्रय दिन थालेपछि आफूहरूले वडा अधिवेशन बहिष्कार गरेको पार्टीका एक स्थानीय नेताले बताए ।
‘उहाँ भुइँतहमा खटिने कार्यकर्ताहरूलाई तह लगाउने हिसाबले अगाडि बढिरहनु भएको छ । भाइ भतिजाप्रति उहाँको सदभाव देखियो,’ ती नेताले भने,‘वास्तविक कार्यकर्तालाई पछाडि पार्न खोजिरहनु भएको छ । त्यसैले हामीले अधिवेशन बहिष्कार गरेका हौं ।’
अघिल्लो स्थानीय तहको निर्वाचनमा बागी भएर चुनाव लडेकामध्ये केहीको कारबाही फिर्ता गरी एकजनाको यथावत राख्न मन्त्री यादवले दबाब दिएको स्थानीय कार्यकर्ताहरूको आरोप छ ।
गत स्थानीय तहको निर्वाचनमा मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बागी भएर विश्वनाथ यादव अध्यक्ष, जयकुमार यादव उपाध्यक्ष र फुलगेन यादव वडा सभापतिमा चुनाव लडेका थिए । ती मध्ये विश्वनाथ र फुलगेनको कारबाही फिर्ता भएको छ भने जयकुमारलाई यथावत राखिएको छ ।
गाउँपालिकाका स्थानीय जनताबीच बलियो पकड भएका जयकुमारको कारबाही यथावत राख्न मन्त्री यादवले दबाब दिइरहेको त्यहाँका काँग्रेस कार्यकर्ताहरूको भनाइ छ । सबैजनामाथिको कारबाही फिर्ता नभएसम्म वडा अधिवेशन हुन नदिने उनीहरूले अडान लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

