जनकपुरधाम, २९ माघ । जनकपुरधामस्थित नगर डिहबार मन्दिर नजिकै रहेको झुला घर विद्यालयका विद्यार्थीहरू दुर्गन्ध र फोहोरले ग्रस्त वातावरणमा पठनपाठन गर्न बाध्य भएका छन् ।
विद्यालयको वरपरको क्षेत्रमा सर्वसाधारणले सार्वजनिक रूपमा पिसाब फेर्ने गर्दा त्यहाँको वातावरण दुर्गन्धित बनेको छ भने सफाइको अभावमा विद्यार्थीहरू र शिक्षकहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ ।
विद्यालय नजिक रहेको बाटो अत्यधिक प्रदूषित भएको हुँदा स्थानीयबासी, विद्यालयमा अध्ययनरत विद्यार्थीहरू र विद्यालय कर्मचारीहरूले नाक थुनेर चल्नुपर्ने अवस्था सिर्जना भएको छ । यो समस्याले झुला घर विद्यालयको वातावरणलाई बिगार्दै लगेको छ । यसले नियमित अध्ययन–अध्यापनमा पनि बाधा उत्पन्न गरिरहेको छ ।
विद्यालयको मुख्य प्रवेशद्वारदेखि नै दुर्गन्ध आउने गरेको हुँदा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू कक्षामा एकाग्रताका साथ बस्न निकै गाह्रो भइरहेको छ । फोहोर र दुर्गन्धको समस्याले गर्दा पढ्ने वातावरण नै नष्ट भएको छ भने विद्यार्थीहरू रोगको जोखिममा परेका छन् । स्थानीय बासिन्दा र विद्यार्थीहरूले दिनहुँको यो पीडालाई सहन बाध्य भएको बताउँछन् ।
कक्षा ५ मा अध्ययनरत एक छात्रले भने, ‘हामीले कक्षामा बस्न मुस्किल हुन्छ । पिसाबको दुर्गन्धले घण्टौं कक्षामा ध्यान दिन सक्दैनौं । विद्यालय आउँदा शारीरिक रूपमा अस्वस्थ महसुस हुन्छ ।’
यस्तै, कक्षा ४ मा अध्ययनरत एक छात्रा भन्छिन्, ‘हामीलाई धेरै पटक विद्यालय नजिकै फोहोरको कारणले पठनपाठनमा समस्या परेको छ । टाउको दुख्ने, खोकी लाग्ने र कहिलेकाहीं पेट दुख्ने समस्या पनि आइरहेको छ । विद्यालय आउनै मन लाग्दैन ।’
विद्यालयका शिक्षकहरू पनि यो समस्या समाधान नहुँदा निराश छन् । शिक्षकहरु भन्छन्, ‘हाम्रो पठनपाठनको वातावरण नै बिग्रेको छ ।विद्यार्थीहरू बिरामी परिरहेका छन् । तर, समस्या समाधानका लागि अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन । हामी सरोकारवाला निकायलाई जानकारी दिँदै आएका छौं । तर, ध्यान दिइएको छैन ।’
झुला घर विद्यालय आसपासका स्थानीय बासिन्दाहरू पनि यस समस्याबाट आक्रान्त छन् । उनीहरू विद्यालय नजिकै पिसाब फाल्ने र फोहोर गर्ने बानीले गर्दा दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् ।
स्थानीयबासी सोनु निधि भन्छन्, ‘यो बाटो भएर हिँड्दा हामीले नाक थुन्नैपर्छ । यहाँको दुर्गन्धले हाम्रो जीवनयापनमा निकै ठूलो असर पारेको छ । विद्यालय नजिकै यस्तो अवस्था हुनु निकै लाजमर्दो कुरा हो । छेउमै पिसाब गर्ने सार्वजनिक शौचालय रहेपनि त्यसको उचित व्यवस्थापन नहुँदा यस्तो समस्या उत्पन्न भएको हो ।’
स्थानिय रेखा साह भन्छिन्, ‘यो समस्या धेरै पुरानै हो । यहाँको विद्यालयलाई नियमित रूपमा सफाइ गर्ने कुनै व्यवस्था छैन । हाम्रा बालबालिकाहरू यस्तो वातावरणमा कसरी स्वस्थ रहून ? यो समस्याको समाधानको लागि तत्काल कदम चाल्नुपर्ने हो ।’
विद्यालय प्रशासनले यो समस्याबारे लामो समयदेखि प्रयास गरिरहेको भए पनि समस्या जस्ताको तस्तै रहेको छ । विद्यालयका अनुसार फोहोरको समस्याले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको छ । उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य पनि खतरामा परेको छ ।
सफाइ र स्वास्थ्यको जिम्मेवारी बोकेको जनकपुरधाम उपमहानगरपालिका यो समस्याबारे जानकारी रहेको स्वीकार गरेको छ ।
झुला घर विद्यालयको वरपरको फोहोर र दुर्गन्ध समस्या दीर्घकालीन समाधानका लागि विद्यालय प्रशासन, स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूको सहकार्यमा कार्य योजना तयार पार्नुपर्नेमा जोड दिन सकिने बताइएको छ ।