काठमाडौं, २९ माघ । सिरहा जिल्लामा भइरहेको अबैध उत्खननको मुद्दा थप गम्भीर बनिरहेको छ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले चिनियाँ ठेकेदार कम्पनीका कारण भइरहेको यो उत्खनन रोक्न संसदीय समिति गठनको माग गरेकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सिरहामा भइरहेको यो अबैध उत्खनन्का कारण स्थानीय बासिन्दाहरू गम्भीर जोखिममा परेका र यसले जनजीवनमा प्रतिकूल असर पारिरहेको बताइन् । प्रहरीले यसै क्रममा एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको भए पनि स्थानीय प्रतिनिधिहरूले यो विषयमा पर्याप्त चासो नदेखाएको चौधरीको आरोप छ ।
सांसद चौधरीले सिरहाको खुट्टी खोला आसपासका बस्तीहरू खतरामा रहेको भन्दै कृषिमा आश्रित किसानहरूको जीवनमा गम्भीर असर परेको उल्लेख गरिन् । साथै, राजमार्ग नजिकै बसोबास गर्ने ठूलो जनसंख्या शुद्ध हावाबाट बञ्चित हुन पुगेको समेत उनले बताइन् । उनले यो विषयमा स्थानीय, प्रदेश र संघीय सरकारलाई ध्यान दिन आग्रह गर्दै संसदीय अनुगमनको माग गरेकी छिन् ।
चौधरीले विशेष रूपमा सिरहाको कर्जन्हा, मिर्चैया, नरहा, गोलबजार र गढीमाई नगरपालिकाका नदीहरूमा चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे टु ईञ्जिनियरिङ ग्रुपले अबैध उत्खनन गरिरहेको दाबी गरिन् । यस कम्पनीले महेन्द्रराजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्य गरिरहेको भए पनि नदीहरूमा डोजर र स्काभेटरको प्रयोग गरेर व्यापक उत्खनन गरेको आरोप लगाइएको छ ।
चौधरीका अनुसार २०७९ चैत ११ गते सिरहाको लहान नगरपालिकासँग दुई वर्षको ठेक्का सम्झौता गर्दा उत्खनन्को लागि डोजर वा स्काभेटरको प्रयोग नगर्ने सर्त राखिएको थियो । तर, कम्पनीले यो सर्त उल्लङ्घन गरेको छ । उनले खुट्टी र सरायु खोलाको संगमस्थल उत्तरतर्फ रहेको संरक्षित क्षेत्रमै उत्खनन भइरहेको मिडियाले रिपोर्ट गरेको उल्लेख गरिन् ।
सांसद चौधरीले २०८१ मंसिर ३ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको भए पनि सम्बन्धित निकायले अझै ध्यान नदिएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् ।
यसै क्रममा उनले चुरे क्षेत्रको महत्व र यसले मधेशको पानी प्रणालीमा पारिरहेको प्रभावका बारेमा चर्चा गरिन् । चुरेको रिचार्ज सिस्टम ध्वस्त हुँदा जमिनमुनिको पानीको स्रोतमा प्रतिकूल असर परेको र मधेशका जनताले खानेपानीको अभाव झेलिरहेको उनले बताइन् ।
सांसद चौधरीले नेपालको जलवायु परिवर्तनमा देखिएको प्रभावप्रति गम्भीरता दर्शाउँदै चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन् ।