जनकपुरधाम, २९ माघ । नेपाली कांग्रेस मधेशका प्रमुख सचेतक कुमरकान्त झाले धनुषा प्रहरीले एक महिलालाई अर्धवस्त्रमा पक्राउ गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले सो घटनालाई घोर भत्र्सना गर्दै महिला सम्मान र महिला उत्थानका लागि भएका कुराहरूसँग यस घटनाको मेल नखाने बताएका हुन् ।
प्रदेश सभाको बैठकमा सांसद झाले प्रतिवादी महिलाको नाम बबिता महतो भएको उल्लेख गर्दै भने, ‘महिलाको सम्मान र सुरक्षा माथि भइरहेका सबै कुरालाई हामीले गम्भीरतासाथ लिन्छौं । तर, यस घटनामा प्रहरीको व्यवहारले महिला सशक्तिकरणको सिद्धान्तलाई धक्का पुर्याएको छ ।’
उनले यो घटना यो तरिकाले घट्नु भनेको हामी महिला अधिकार र सम्मानको कुरा गरिरहँदा त्यसको विरोधाभास रहेको जिकिर गरे । उनका अनुसार बबिता महतो नुहाइरहेको अवस्थामा प्रहरीले उनलाई समातेर धनुषा जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।
प्रदेश सभा सदस्य झाले सो घटनाको गम्भीर न्यायिक जाँचको माग गर्दै भने, ‘हाम्रै प्रदेशका प्रहरीले नुहाइरहेकै अवस्थामा महिलालाई समातेर ल्याएको छ । यो घटनाले महिला विरुद्धको क्रूरता र अपमानको स्वरूप देखाउँछ ।’
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिवकुमार यादवले भने, ‘जसरी घटनाको विवरण दिइएको छ । त्यो सही होइन । उक्त महिलालाई कुनै आपत्तिजनक अवस्थामा पक्राउ गरिएको छैन । यो बैंकिङ कसुरका फरार आरोपित महिलाहरूको समात्ने प्रक्रिया हो । र, यसमा कानुनी प्रक्रिया पूरा गरेर नै पक्राउ गरिएको हो ।’
प्रहरी निरीक्षक यादवले बिनिता कुमारी महतो र रञ्जुकुमारी महतो नामकी महिलाहरूलाई कानून बमोजिम पक्राउ गरिएको बताए ।बिनिता महतो र रञ्जुकुमारी महतो बैंकिङ कसुरका फरार आरोपितका रूपमा सूचीबद्ध थिइन् । अदालतको आदेश अनुसार उनीहरुलाई पक्राउ गरिएको थियो ।
‘महिला प्रहरीलाई परिचालन गरिएको थियो र कुनै पनि आपत्तिजनक अवस्था थिएन । यी महिलाहरूलाई अदालतमा पेस गरिसकिएको छ,’ प्रहरी निरीक्षक यादवले स्पष्ट पारे ।