जनकपुरधाम, २९ माघ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर–३ का १२ वर्षीय बालक अमरकुमार पंजियार ६ दिनको खोजीपछि आज फेला परेका छन् ।
बालकलाई प्रहरीले आज जिल्लास्तरीय प्रहरी कार्यालयको प्राङ्गणमा उपस्थित गराई परिवारका सदस्यलाई जिम्मा लगाएका छन् ।
माघ २४ गते बिहान ९ बजेबाट हराएका अमरकुमार पंजियार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पुलचोकमा आफ्ना परिवारसँग डेरा गरी बस्दै आएका थिए । हराएको केही समयपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।
सुरूमा बालकलाई अपहरण गरिएको शंका गरिएको थियो । तर, घटनाको अनुसन्धानपछि प्रहरीले भने अपहरण नभएको स्पष्ट पारेको छ ।
धनुषा प्रहरीले बालकलाई सुरक्षित अवस्थामा फेला पारेर आज बिहान अमरकुमारको पिता राजकुमार पंजियारको जिम्मा लगाएका छन् । अमरकुमारको उद्धारका लागि स्थानीय प्रहरीका सदस्य र नागरिक समाजका प्रतिनिधिहरुले गम्भीर खोजी अभियान चलाएका थिए ।
प्रहरीका अनुसार बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको परिवारसँग हाल सबै कुरा सामान्य भएको जनाएको छ ।