रौतहट, २९ माघ । श्रमजीवी पत्रकार संघ रौतहट शाखाले ‘मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक’ खारेजको माग गर्दै मौन जुलुस प्रदर्शन गरेको छ । उक्त प्रदर्शन मंगलबार मधेसी क्रान्ति विपी चौक गौरमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सक्रिय सहभागिता थियो । पत्रकारहरूले ‘मलाई लेख्न र बोल्न दे सरकार’ भन्ने नारासहित मौन जुलुस प्रदर्शन गरे ।
यसै क्रममा पत्रकारहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयकलाई तत्काल फिर्ता लिनुपर्ने माग गरिएको छ ।
श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष संतोष पौडेले यस विधेयकलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको उल्लेख गर्दै सरकारले पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने प्रयासको विरोध गरे ।
‘यो विधेयक पत्रकारहरूको स्वतन्त्रतामा रोक लगाउने प्रयास हो । यसलाई तुरुन्त खारेज गर्नुपर्छ,’ उनले जोड दिएका छन् ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, स्वतन्त्र पत्रकार र सामाजिक अभियन्ताहरूको पनि उल्लेखनीय उपस्थिति थियो ।सहभागीहरूले विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।