जनकपुरधाम, २९ माघ । मधेश प्रदेश सभा सदस्य ललिता कुमारी दासले कलाकारद्वय अभिनाश झा र अन्सा सदालाई पुरस्कृत गर्न सरकारसँग माग गरेकी छन् ।
दासले नवविवाहित जोडीलाई मधेश सरकारले सम्मानित गर्नुपर्ने माग गर्दै प्रदेश सरकारसमक्ष आफ्नो धारणा राखेकी हुन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा दासले भनिन्, ‘अभिनाश कुमार झा र अन्सा सदाको विवाह जातीय विभेदविरुद्धको एक साहसी कदम हो । यो विवाहले हाम्रो समाजलाई जातीय भेदभावको अन्त्य गर्न प्रेरणा दिएको छ । म प्रदेश सरकारसँग आग्रह गर्छु कि यो जोडीलाई मधेश सरकारले सम्मानजनक पुरस्कार प्रदान गरोस् । यसले समाजमा व्याप्त विभेदविरुद्धको लडाइँलाई थप सशक्त बनाउन मद्दत पुर्याउँछ ।’
दासले यो विवाहलाई मधेश समाजको रूपान्तरणको उदाहरणका रूपमा लिँदै राज्यले यस्ता प्रयासलाई प्रोत्साहित गर्नु अत्यावश्यक भएको बताएकी छन् ।
‘यो विवाह केवल व्यक्तिगत निर्णय मात्रै नभई सामाजिक सुधारको प्रतीक हो । हामीले यस्ता साहसी कदमलाई सम्मान गर्दै राज्यस्तरबाट पनि प्रोत्साहन गर्नुपर्छ । जातीय समानताको दिशामा अगाडि बढ्न अब समय आएको छ,’ उनले थपिन् ।
यही माघ १४ गते धनुषा जिल्ला अदालतमा चर्चित कलाकार अभिनाश कुमार झा उर्फ कलकतियाबाली र मुसहर समुदायकी अन्सा सदाले विवाह गरेर समाजमा व्याप्त जातीय विभेदको अन्त्य गर्ने साहसी प्रयास गरेका छन् । यस विवाहले मधेशमा जातीय समानताको सन्देश प्रवाह गर्दै सामाजिक परिवर्तनको प्रतीक बनेको छ ।
कलकतियाबाली आफ्नो कला र सांस्कृतिक योगदानका कारण पहिचान बनाएका व्यक्तित्व हुन् भने अन्सा सदा मधेशको सीमान्तकृत मुसहर समुदायको प्रतिनिधि हुन् । उनीहरूको विवाहले सामाजिक रूपान्तरणतर्फ एक महत्त्वपूर्ण सन्देश दिएको छ । यसले जातीय विभाजनलाई तोड्ने प्रयास गरेको छ ।
राज्यले यसलाई एक उदाहरणको रूपमा सम्मान गरेर समाजलाई समतामूलक बनाउन सहयोग गर्नुपर्ने प्रदेश सभा सदस्य दासको धारणा छ ।