जनकपुरधाम, २९ माघ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान, संघीयता, अधिकार क्षेत्र र संघीयताको विशेषताहरू जस्ता विषयमा विद्यार्थीहरूलाई प्राध्यापन गर्ने निर्णय गरेका छन् ।
यसका लागि उनले राजर्षि जनक विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसमा प्राध्यापकका रूपमा कक्षा सञ्चालन गर्ने प्रस्ताव पठाएका छन् ।
सभामुख मण्डल पूर्व शिक्षक पनि हुन् । उनी अब पुनः प्राध्यापन पेशामा फर्कन चाहन्छन् । उनका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलका अनुसार सभामुखले विश्वविद्यालयमा संविधान, संघीयता, विश्वभरका संघीयताका उदाहरणहरू जस्ता विषयमा पढाउनेछन् ।
उनले भने, ‘राजनीतिका कारण आफ्नो पुरानो प्राध्यापन पेशा छुटेको थियो । अहिले सभामुख मण्डल राजनीतिमा सक्रिय नरहेकाले संघीयताबारे फैलिरहेको नकारात्मक प्रचारलाई चिर्ने प्रयासका रूपमा यस कदमलाई लिएका छन् ।’
सभामुख मण्डलले भनेका छन्, ‘संघीयता नेपालमा नयाँ अभ्यास हो । र, यसको महत्त्वपूर्ण पिरियडमा केही व्यक्तिहरुले संघीयता र प्रदेशहरूबारे द्वेषपूर्ण अभिव्यक्ति दिइरहेका छन् । त्यसैले मैले प्रदेशका विभिन्न जिल्लाहरूमा उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संघीयताको बारेमा प्राध्यापन गर्ने योजना बनाएको छु ।’
उनले संघीयताको सही मर्म र अभ्यासलाई बुझाउन विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने आफ्नो उद्देश्य रहेको बताए । सभामुखले आफ्नो रुचि अंग्रेजी विषयमा भए पनि अहिलेको राजनीतिक आवश्यकता र संविधानलाई आधार मानेर अतिथि प्राध्यापकका रूपमा संघीयताको बिषयमा अध्यापन गर्न चाहेको बताए ।
यसैबीच, राजर्षि जनक विश्वविद्यालयका उपकूलपति डा. अमर प्रसाद यादवले विश्वविद्यालयको गौरव र संघीयतामा जनताको साझा आशा पूरा गर्न विद्यार्थीहरूले सभामुखसँग प्रत्यक्ष संवाद गर्न पाउने अवसरलाई महत्त्वपूर्ण मानेर प्राध्यापनको प्रस्ताव स्वीकार गरेको जनाएका छन् ।
सभामुख मण्डलको यो पहलले संघीयता सम्बन्धी ज्ञानको प्रवाह बढाउने र युवाहरूलाई संघीयताबारे सहि बुझाइ दिने प्रयास गरिनेछ ।