जनकपुरधामलाई विश्वस्तरमा चिनाउन सरकार र समाजको साझा जिम्मेवारी

–ज्योति झा
जनकपुरधाम, १० मंसिर । राजा जनकको राजधानी, माता सीताको माइत, मिथिलाको पहिचान र नेपाल भारतबीचको सांस्कृतिक सेतु जनकपुरधाम । यही पवित्र भूमिले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिएको छ । यही मिथिला संस्कृतिको आकर्षणले हजारौँ विदेशीलाई यहाँ तान्छ ।
तर, यतिबेला जनकपुरधामको वास्तविकता यसको गौरवभन्दा निकै फरक छ । विशेषगरी विवाहपञ्चमी जस्ता अन्तर्राष्ट्रिय महत्वका महोत्सवमा देखिने अव्यवस्था, लापरबाही र प्रशासनिक कमजोरीले जनकपुरधामको छवि धुमिल बन्दै गएको देखिन्छ ।
सीताराम विवाहपञ्चमी केवल धार्मिक महोत्सव मात्र नभई नेपाल र भारतबीचको सदियौंदेखिको बेटीरोटी सम्बन्ध कायम राख्ने महत्वपूर्ण संस्कार हो । तर, विडम्बना नेपालले यस महोत्सवलाई राष्ट्रिय महत्वको रूपमा मान्यता दिए पनि सार्वजनिक बिदा प्रदान गरिँदैन ।

जनकपुरधाम र मिथिला संस्कृतिलाई संसारभर चिनाउने दिवसमा नै सम्मान नदिनु राज्यको सांस्कृतिक कमजोर दृष्टिकोणको उदाहरण हो ।संघीयता आएपछि जनकपुरधाममा स्थानीय, प्रदेश र संघ तीनै तहका सरकार छन् । तर, सबैले राजनीतिक भाषण मात्र गर्छन्, विकासका नाममा बजेट कहाँ गायब हुन्छ स्पष्ट छैन, आमजनता भन्दा नेता र घर भन्दा संघ संस्थाहरू बढी छ । काम गर्नेभन्दा फोटो खिच्ने र सम्मान ग्रहण गर्ने भीड नै ठूलो देखिन्छ ।
विवाहपञ्चमीमा हजारौँ पर्यटक जनकपुरधाम आउँछन् । तर, भीड व्यवस्थापन छैन, प्रहरी निष्क्रिय देखिन्छ । दुई लेनको साधारण व्यवस्था पनि गरिँदैन, महिला बालबालिका दुव्र्यवहारको जोखिममा पर्छन् । मन्दिरमा दर्शन गर्न घण्टौँ लाइन लाग्नुपर्ने हुन्छ ।
भारतमा करोडौंको संख्यामा पर्यटक जुट्दा भिड र बस्ने शौचालय व्यवस्था गरिन्छ । तर, यहाँ हजारकोे संख्यालाई व्यवस्थापन गर्न धौ–धौ पर्छ । सामाजिक सञ्जालमा भने वाहवाही लुट्ने, नाटक गर्नेको कमी छैन् ।
खुल्ला आकाश मुनि पर्यटक रात काट्न बाध्य हुन्छन् । शौचालय व्यवस्थापन जिरो । भारतलगायत अन्य स्थानबाट आएका भक्तजन आजित भएर मुखबाट एउटा शब्द निकाल्दै भन्छन्, ‘हामी अब अर्को वर्षदखि यहाँ आउँदैनौ ।’

भारतको दरभंगाबाट आएकी ५२ वर्षीया नुनु देवीले भनिन्, ‘पटनाको हनुमान मन्दिरमा हनुमान जयन्तीमा दुनियाको मान्छे आउँछ । बस्ने खाने व्यवस्था पनि सरकारले गर्छ । तर, यहाँ त अवस्था दयनिय छ । त्यति कष्ट गरेर आए, तर दर्शन पनि गर्न सकिएन । यो भीडमा उच्छृंखल गतिविधि त के भन्नु भन्न पनि लाज लाग्छ ।’
त्यस्तै युपिका सुमन श्रीवास्तव भन्छन्, ‘हजार कष्ट गरेर आएँ, तर दर्शन गर्न पनि सम्भव भएन । सीतामढीमै विवाहपञ्चमी मनाउँछु अब । लोकल जनता नभएको भए त केही नै हुँदैन्थ्यो । म त पहिलो पटक आएँ । तर, अब नआउने ।’
यो टिप्पणी व्यक्तिगत अनुभव नभई सिस्टमको असफलता हो । खुला आकाशमुनि पर्यटक रात काट्न बाध्य, महत्वपूर्ण स्थलहरूमा शौचालय नहुनु, अस्थायी पण्डाल, स्वयम्सेवक, मेडिकल काउन्टर हरेक कुराको अभाव ।
यस्तो अवस्था भोलि पर्यटक घट्नुको मुख्य कारण बन्नेछ । र, पहिलेपटक आएका धेरै पर्यटकहरूले अब नआउने घोषणा गरिसकेका छन् । सबैभन्दा चिन्ताजनक विषय यही हो ।
संयम र धार्मिक वातावरण कायम गर्न परिक्रमा भित्र रक्सि र मासु निषेध गरिएको थियो । तर, वास्तविकता भने मेन सडककै होटलमा खुला रूपमा रक्सी मासुको सेवन, कुनै अनुगमन देखिएन । नियम सूचनामा मात्र देखियो । व्यवहारमा भने लागू शून्य । यसले स्थानीय प्रशासनको कमजोरी मात्र नभई धार्मिक भावनाप्रति उपेक्षा पनि देखाउँछ ।
अहिले सामाजिक सञ्जालमा संस्कृति, सभ्यता, मिथिला पहिचानका भाषण गर्ने धेरै छन् । तर, व्यवहारमा कोही स्वयंसेवक बन्न तयार हुँदैन । सफाइ अभियानमा कम उपस्थिति, वास्तविक कामभन्दा ‘रिल’, ‘फोटोसेसन’ र ‘डाइलग’मा बढी चासो ।

संस्कृति बचाउने कुरा बोल्नेभन्दा गर्ने नै महत्त्वपूर्ण हो । हामीलाई हाम्रो संस्कृति र पर्यटक बचाउनु छ भने विवाहपञ्चमीलाई राष्ट्रिय पर्व घोषणा र सार्वजनिक विदा दिनुपर्छ ।
विवाहपञ्चमी जस्ता मुख्य पर्वका लागि भीड व्यवस्थापन, सडक सुरक्षा, स्वच्छता, यातायात नियन्त्रण, आपतकालीन स्वास्थ्य सेवा एकै ठाउँबाट सञ्चालित हुनु अपरिहार्य देखिन्छ ।
पशुपतिनाथ, लुम्बिनीजस्तै जनकपुरधाममा पनि स्वतन्त्र प्राधिकरण, प्रतिवर्षका लागि विशेष बजेट विनियोजन, पारदर्शी खर्च, दिगो पूर्वाधार, शौचालय, विश्राम गृह, लाइन व्यवस्था निर्माण आवश्यक देखिन्छ ।
प्रशिक्षित स्वयंसेवक जस्तै स्थानीय युवा, स्काउट, सामाजिक संघसंस्था परिचालन आवश्यक छ । युवा भिडियोमा जति एक्टिभ देखिन्छन् मैदानमा पनि त्यति नै उपस्थिती आवश्यक छ ।
निःशुल्क पानी, अस्थायी टेन्टसिटी, सुरक्षित महिला कक्षका साथै नियम कडाइका साथ कार्यान्वयन अत्यन्त आवश्यक छ । परिक्रमाभित्र रक्सि, मासु पूर्ण रोक, ट्राफिक र भीड नियन्त्रणमा कडाइ, अव्यवस्था गरे तत्कालै जरिवाना तिराउनु पर्ने आवश्यकता छ ।

सामाजिक सञ्जालमा प्रचारबाजी ठीक छ । तर, पहिला काम र पछि प्रचार सिद्धान्त अपनाउनु जरुरी देखिन्छ । जनकपुरधाम पवित्र भूमिमात्र नभई नेपालको सांस्कृतिक पहिचान, पर्यटनको महान सम्भावना र अन्तर्राष्ट्रिय सम्बन्धको सेतु पनि हो । तर, वर्तमान अवस्थाले त्यो सम्मानलाई धक्का पुर्याइरहेको धेरैको टिप्पणी छ ।
जनकपुरधामलाई विश्वस्तरमा चिनाउने जिम्मा सरकारको मात्र नभई सम्पूर्ण समाजको हो । आफूले आफैलाई सुधार्दै, प्रशासनलाई दवाव दिँदै संस्कृतिलाई कर्ममा जोगाउँदा मात्र यस सांस्कृतिक नगरिलाई विश्व प्रसिद्ध सांस्कृतिक राजधानी बनाउन सकिन्छ ।




