जनकपुरधाम, २१ कार्तिक । नेपालकै प्राचीन शैक्षिक धरोहरमध्ये एक जनकपुरधामस्थित जानकी माध्यमिक विद्यालयको अस्तित्व संकटमा छ । कुनै समय राजधानी जनकपुरधामको शैक्षिक प्रतिष्ठाको प्रतीक मानिएको यो विद्यालय अहिले आर्थिक अभाव, अतिक्रमण र राजनीतिक हस्तक्षेपको चपेटामा परेको छ ।

विद्यालयसँग करोडौं मूल्य बराबरको सम्पत्ति रहे पनि प्रशासनिक कमजोरी र प्रभावशालीहरूको मिलोमतोका कारण सम्पूर्ण जग्गा कब्जामा परेका छन् ।

२०२१ सालमा स्थापित जानकी मावि साकेत विहारी रामजानकी मन्दिरको भवनभित्र सुरु गरिएको थियो । तत्कालीन महन्थ मौनी बाबाले मन्दिरका सम्पूर्ण भवन र जग्गा विद्यालयका लागि दान दिएका थिए । यसअघि विद्यालय गंगासागर डिलमा रहेको झुलाघरमा सञ्चालन हुन्थ्यो ।

मौनी बाबाले २०३१ सालमा तत्कालीन प्रधानाध्यापक उपेन्द्र झासँग औपचारिक मञ्जुरीनामा गर्दै विद्यालयलाई मन्दिरको सम्पूर्ण सम्पत्ति हस्तान्तरण गरेका थिए । उनले विद्यालयका हितका लागि मन्दिरको सम्पूर्ण भवन र जग्गा सुम्पेको र भगवानको मन्दिरमा पूजाआजा विद्यालयकै जिम्मामा रहने गरि हस्तान्तरण गरेका थिए ।

तर, आज मौनी बाबाको सपना र योगदान दुवै धूमिल भएका छन् । विद्यालयका प्रधानाध्यापक जगदीश साह भन्छन्, ‘विद्यालयको आफ्नै १७ कट्ठा ७ धुर ८ कन्मा जग्गा छ । तर, सबै अतिक्रमणमा छ । हामीसँग आयस्रोत शून्य छ । भवन चुँइदो छ । पर्खाल ढल्न लागेको छ । हामी सहयोगको प्रतीक्षामा छौं ।’

नापी शाखा धनुषाको अभिलेख अनुसार विद्यालयसँग जनकपुरधाम–८ र ९ मिलाएर १७ कट्ठाभन्दा बढी जग्गा छ । तर, विद्यालयको स्वामित्वमा अहिले जम्मा ७ कट्ठा ४ धुर मात्रै बाँकी छ । बाँकी जग्गा स्थानीय र प्रभावशाली व्यक्तिहरूले अतिक्रमण गरेका छन् ।

सिट नं. १३५५(०७) को कित्ता नं. १०१ मा रहेको १७ धुर, १३५५(०७) को कित्ता नं. १२९ को १ कट्ठा १ कनमा र १३५५(१२) को कित्ता नं. ३७ को २ कट्ठा १ धुर १ कनमा जग्गा जनकपुरधामका ‘गन्यमान्य’ व्यक्तिहरूले दशकौंदेखि निजी स्वामित्वमा चलाएका छन् ।

विद्यालयका शिक्षक दिगम्बर झा भन्छन्, ‘अतिक्रमण रोक्न बोल्ने शिक्षक सरुवा हुन्छन् । मैले पनि आवाज उठाएँ, त्यसबापत गाउँको विद्यालयमा सरुवा गराइयो ।’

मोहियानीको नाममा कानुनी दोहन
मन्दिरले मन्दिरको खर्चका लागि खेतीपाती गर्न स्थानीयलाई मोहीको रूपमा जग्गा दिएको थियो । तर, विद्यालय बनेपछि पनि त्यही चलन विद्यालयकै प्रधानाध्यापक र व्यवस्थापन समितिको मिलोमतोमा जारी रह्यो ।

तर, ती मोहीहरूले पछि सो जग्गा व्यक्तिगत रूपमा बिक्री गर्न थाले । उदाहरणका लागि, विद्यालयको १७ धुर जग्गा मोही अच्युतप्रसाद उपाध्यायको नाममा थियो, जुन उनले पछि निर्मला देवी साहलाई बिक्री गरे । आज त्यहाँ निजी घर बनेको छ ।

शिक्षक मनोज ठाकुर भन्छन्, ‘मोहीलाई दिइएका जग्गा खरिदबिक्री गर्न कानुनले रोक्छ । तर, यहाँ सबै भयो । हामीले विरोध गर्दा धम्की पायौं । विद्यालयको सम्पत्ति जोगाउनेतर्फ कसैको चासो छैन ।’

२०४४ सालमा जनकपुर गुठी तहसिल कार्यालयले गरेको एउटा विवादास्पद निर्णयले अतिक्रमणलाई कानुनी जामा लगाइदियो । गुठीले ‘जिन्सी मनखप’ नामक प्रावधान ल्याएर मोहीहरूले सानो रकम बुझाएर विद्यालयको जग्गा आफ्नो नाममा दर्ता गर्न पाए ।

सो निर्णय अनुसार ‘क’ वर्गको प्रतिकट्ठा ११ हजारदेखि ‘च’ वर्गको ६ हजारसम्म दर निर्धारण गरिएको थियो । त्यसैको भरमा स्थानीयहरूले विद्यालयको जग्गा नामसारी गराएर निजी सम्पत्ति बनाएका हुन् ।

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष परमेश्वर साह भन्छन्, ‘अदालतमा मुद्दा दायर गरेका छौं । तर, प्रभावशाली अतिक्रमणकारीहरूले कानुनी प्रक्रियामै अवरोध पुर्याइरहेका छन् ।’

जर्जर भवन र आर्थिक संकट
सुर्खी र चुना प्रयोग गरेर बनेका विद्यालयका अधिकांश भवनहरू ८० वर्षभन्दा पुराना छन् । बर्षामा हरेक कक्षामा पानी चुहिन्छ । पर्खाल ढल्ने अवस्थामा छन् । विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी छन् । तर, पठनपाठनको अवस्था कमजोर छ ।

विद्यालयसँग १६ जना शिक्षकको दरबन्दी छ । तर, पाठ्यक्रमभन्दा बढी कक्षामा शिक्षक पुग्न सक्दैनन् । पूर्वअध्यक्ष सरोज मिश्र भन्छन्, ‘शिक्षणभन्दा बढी राजनीति बढेको छ । विद्यार्थीको संख्या र गुणस्तर दुवै घट्दै छन् ।’

खर्च धान्न सटर र कोठा भाडामा
विद्यालयसँग कुनै स्थायी आम्दानी स्रोत छैन । त्यसैले व्यवस्थापनले भवनका दुई सटर निजी क्लिनिकलाई भाडामा लगाएको छ र केही अनुपयोगी कोठाहरू क्यान्टिनका लागि प्रयोगमा दिएका छन् । महिनामा जम्मा १६ हजार रुपैयाँ भाडा आउँछ । यहीबाट विद्यालयले साना खर्च टार्छ ।

समाजको मौनता, सम्पत्तिको क्षति
विद्यालयको सम्पत्तिमा कब्जा गर्नेहरूमा स्थानीय प्रभावशाली, शिक्षकसँग सम्बन्धित समूह र राजनीतिक व्यक्ति सम्मिलित छन् । प्रशासन, प्रहरी र जनप्रतिनिधि सबै मौन छन् ।

प्रधानाध्यापक साह भन्छन्, ‘गत वर्ष २ कट्ठा जग्गा अतिक्रमण हुँदा म प्रमुख जिल्ला अधिकारीकहाँ पुगेँ । तर, सुनुवाइ भएन । यो मेरो निजी सम्पत्ति होइन, समाजको हो । तर, समाज नै मौन छ ।’

जानकी मावि कुनै समय जनकपुरधामकै उत्कृष्ट शैक्षिक संस्थामध्ये थियो । विद्यार्थी संख्या १५ सयभन्दा बढी र पढाइ पनि उच्चस्तरीय थियो । तर, आज विद्यार्थी नाममात्र छन् । पठनपाठन झरिरहेको छ । विद्यालय अस्तित्व जोगाउने संघर्षमा छ ।

पूर्वविद्यार्थी राधेश्याम झा भन्छन्, ‘यो विद्यालय जनकपुरको गौरव थियो । अहिले भवन ढल्ने अवस्थामा छ । सम्पत्ति कब्जामा छ । शिक्षकहरू निराश छन् ।’