प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ

सप्तरी, १३ कार्तिक । सप्तरीमा प्रहरीले प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१ का ३५ वर्षीय रोहितकुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका–१ रायपुरका ३६ वर्षीय मिथुनकुमार चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका–१ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरू ढुंगामुढा गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रुपनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले ढुंगामुढा गरिरहेका व्यक्तिहरूलाई सम्झाउने प्रयास गर्दा उनीहरूले प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेका थिए । घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् ।
घाइते नायव निरीक्षक यादवको टाउको, हात र घुँडामा चोट लागेको छ । उनको उपचार मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा भइरहेको छ । प्रहरी जवान रञ्जित यादवको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।
उक्त घटनामा संलग्न तीनैजनामाथि आपराधिक दफा अनुसार कानुनी कारवाही अगाडि बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

