छठ पर्वको तयारी सुरू, पोखरी सजावटसँगै बजारमा चहलपहल

जनकपुरधाम, ६ कार्तिक । तराई–मधेश सहित देशभरि भव्यताका साथ मनाइने छठ पर्वको लागि जनकपुरधामको पोखरीहरु पूर्ण रूपमा सजाइसकिएको छ । आस्था र निष्ठापूर्वक मनाइने चार दिने छठ पर्व शनिशबार ‘नहाय–खाय’ विधिबाट विधिवत सुरु हुँदैछ ।
छठ पर्वलाई अत्यन्तै कठोर र निष्ठापूर्वक मनाइने पर्वका रूपमा लिइन्छ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन् । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ भने तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । अन्तिम अर्थात चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएपछि चार दिने पर्व सम्पन्न हुन्छ ।
जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । यस वर्ष पनि एतिहासिक पोखरीहरू जस्तै गंगा सागर, अरगजासर, दशरथ तलाउ र नोचा पोखरीमा सजावटको काम अन्तिम चरणमा पुगेको छ । पोखरी नभएका स्थानमा नदी, कुँवा वा अन्य पानीको स्रोत सफा गरेर सजाइएका छन् ।
छठ पर्वका लागि घरेलु उत्पादनमा आधारित तयारी गरिन्छ । आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ, चामल लगायतको सामग्री धोइ–पखालेर, जाँतोमा पिसेर सामग्री तयार पारिन्छ । संस्कृतिविद रामभरोस कापडिका अनुसार छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा विशेष बनाउँछ । चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर प्रयोग गर्नु यस पर्वको विशिष्ट पक्ष हो ।
त्यस्तै, छठ पर्वलाई लक्षित गर्दै बजारमा चहलपहल बढेको छ । बाँस तथा माटोबाट बनेका घैँटो, हात्ती, छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतका सामग्री बिक्रीमा उपलब्ध छन् । व्यापारीहरूले पर्वको लागि पर्याप्त सामग्री आपूर्ति गरिसकेका छन् ।
छठ पर्व यस वर्ष शनिबारदेखि सुरु हुँदैछ । सो दिन ‘नहाय–खाय’ विधि सम्पन्न हुनेछ । आइतबार खरना, सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने र मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिने क्रमसँगै चार दिने पर्व समापन हुनेछ ।
यस पर्वमा हजारौं भक्तजन पोखरीमा पुगेर सूर्य देवता र छठी मैयाप्रति आस्था व्यक्त गर्नेछन् । विशेषगरी महिलाहरूले ब्रत राखेर आफ्नो परिवारको कल्याण, स्वास्थ्य र समृद्धिको कामना गर्दै सूर्यलाई अर्घ अर्पण गर्ने चलन छ ।

छठको रौनकता
धनुषासहित मिथिलाञ्चलमा दिपावली र भातृद्वितिया पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ ।मिथिलाञ्चलवासीहरुका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीेको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवम् उचनिचको ख्याल नगरि यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउँछन् । जसले गर्दा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने गर्दछ ।
छठ पर्वको पूजाको विधान
यस पर्वमा सूर्य देवतालाई पहिलो दिनको अर्घ अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भएपनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अर्घका लागि समेत त्यही विधि अपनाईन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिइन्छ ।
छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिईने परम्परा रहेको छ । हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरु साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ । तर, केही स्थानहरुमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसादहरु घर लगिन्छ । र, बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्नेहरु सबैजना चौठी तिथिका दिन नुहाई धुवाई गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ ।

यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाई गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्ने व्रतालुहरु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चूल्होमा नयाँ माटोको भाडाँमा अरबा चामलको खीर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खीर देवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसाद स्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यहरुले ग्रहण गर्दछन् । यसलाई मिथिलाञ्चलमा खरना भनिन्छ ।
कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिलाहरु डुब्दै गरेको सूर्यलाई अर्घ दिन्छन् भने पुरुषले सूर्य देवतालाई अर्घ अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफुल लिइ उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौसम्म जलमा रही नाङ्गलो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ चढाउने गर्दछन् । उक्त दिन छठ व्रत गर्नेहरुको घरका सबै सदस्यहरु प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादहरुमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप आदि रहन्छ ।
पर्वको दिन व्रतगर्नेहरुलाई मन्त्रबाट संकल्प लिनु आवश्यक
नमेद्य कार्तिक मासीय शुक्ल पक्षे षष्ठम्यां तिथौ (आ–आफ्नो गोत्रको नाम लिएर) जन्म जन्मान्तरार्जित ज्ञाताज्ञात कायिक वाचिक मानसिक सकल पाप कामावाप्ति काम अद्य प्रातश्च सूूर्यायार्घमहंदास्ये । तत्पश्चात् अक्षत लिएर नमो भगवन सूर्य इहागच्छ यहतिष्ठतः उच्चारण गरी पूजाको थालीमा अक्षत राखी जल लिएर एतानि पाद्यार्घाचमनीयस्नानीय पूूनराचमनीय नमो भगवते श्री सूर्यनारायणय नमः उच्चारण गरी जल चढाई फूलमा रातो चन्दनको लेप लगाई, रातो फूल, दुबो अक्षत र प्रसादका लागि तयार पारिएका परिकारहरुसहित जल लिएर सूर्यतिर हेर्दै नमोस्तु सुर्याय नमः उच्चारण गरी सम्पूर्ण डाला उत्सर्ग गर्दै कथा सुन्ने गरिन्छ । त्यसपछि व्रत गर्ने महिला पुरुषसहित घरका अन्य सबै सदस्यहरु घर फर्किन्छ । र घरमा भोजन गर्ने गर्दछन् जसलाई मैथिलीमा पारण भनिन्छ । पारण भएपछि ४ दिवसीय छठ पर्वको समापन हुन्छ ।
षष्ठी देवी
कार्तिक शुक्ल षष्ठी तिथिका दिन डूब्दै गरेको सूर्यका साथ साथै षष्ठी देवीको समेत पूजा गरिन्छ । पुराणहरुका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टी सम्पूर्ण जीवको रक्षिका देवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उनको नाम समेत षष्ठी रहेको छ । षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठि माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् ।
छठको पौराणिक महत्व
लंका विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेका थिए । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे । एक किसिमले छठ पर्वको आरम्भ यसैदिन देखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठुलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रहरुमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको शुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए । महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाईन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनहरुको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् ।

छठ पर्वको कथा
इस पर्वको कथा अनुसार राजा प्रियवदको निसन्तानी थिए । त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनको पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाईएको खीर खानका लागि दिए । यसको प्रभावले उनलाई सन्तानको रुपमा छोरा प्राप्त भयो तर उक्त छोरा पनि मृत नै जन्मिए । प्रियवद पुत्रलाई लिएर श्मशान गए र पुत्र वियोगमा प्राण त्यागे । ठिक त्यही समय मानस कन्या देवसेना प्रकट भईन् र उनले भनिन्,‘सृष्टिको मूल प्रवृत्तिको छैठौँ अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी परेको छ । हे राजन् तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस् ।’ राजा पुत्र इच्छाले देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । उनले गरेको यो पूजा कार्तिक शुक्ल षष्ठी तिथिको दिन भएको थियो । यस प्रकार कार्तिक शुक्ल षष्ठी तिथिको दिन अर्थात् छठि मैयाको पूजा गर्ने परम्परा बन्यो ।
छठ पर्वको वैज्ञानिक महत्व
छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टीले समेत महत्पूर्ण रहेको पाईएको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रुपमा रहेको छ । जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्ट्राभोइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ । किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ । जसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरुको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरुको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकिएको विज्ञानका जानकारहरुको भनाइ छ ।
सामाजिक सांस्कृतिक महत्व
छठ पूजाको सबैभन्दा महत्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ । भक्ति र अध्यात्मिक हिसाबले परिपूर्ण यस पर्वका लागि मन्दिर वा आडम्बरको आवश्यकता भने हुँदैन् । यो पर्वले समाजमा सबैको महत्व आ–आफ्नो स्थानमा उत्तिकै छ भन्ने कुराको आभाष समेत गराउँदछ । जसरी की माटोको सामग्रीका लागि कुम्हाल, बाँसको सामग्रीका लागि डोम समुदाय, पूजाअर्चनाका लागि ब्राह्मण पूरोहितीनी, सख्खर, चामलका लागि किसान र व्यापारीलगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुखी बिना चप्पल जुत्ता कसरी हिड्छन्, बिना साधन कुनै व्यक्ति कसरी काम गर्दछन्, यसको आभाष गराउनका लागि घाटमा प्रसाद लैजानेहरु धनी होस् या गरिब जुत्ता, चप्पलबिना हिँडेर नै लैजाने गर्दछन् । त्यसैगरी छठको विशेषता सहितको मैथिली लोक गीतसंगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्दछ ।
छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाईन्छ । जस्तै की स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्गलो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरु, ढकना, सरबा, दियो, हाथी ईत्यादि सामग्रीहरु । हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता आफैमा महत्पूर्ण रहेको छ ।
यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पूजिन्छ । त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् जसले यस कुरालाई प्रस्ट्याउछ की सृष्टि सबैको लागि समान हो । यहाँ कोही उचनिच, धनी गरिब छैनन् ।

त्यसैगरी यदी वातावरणीय हिसाबले हेर्ने हो भने पनि छठ पर्वको ज्यादै नै महत्व रहेको छ । वर्षमा एक पटक भएपनि हामीले आफ्नो जीवनसँग अत्यधिक नजिक रहेको प्रकृतिलाई संरक्षण गर्नुपर्छ र पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाई गर्नुपर्छ । हामीलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्दै आएको पानीलाई पनि हामीले संरक्षण गर्नुपर्छ भन्ने प्रकारका सन्देश दिएको हुन्छ ।
यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

