जनकपुरधाम, २१ असोज । मिथिलाञ्चलमा विशेष सांस्कृतिक तथा धार्मिक महत्व बोकेको कोजाग्रत पूर्णिमा पर्व आज धूमधामका साथ मनाइँदैछ ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर यस पर्वको मुख्य आकर्षणको केन्द्र बनेको छ । मन्दिरमा भव्य पूजाआजा, भजन–कीर्तन र पारम्परिक परिकारहरूको माध्यमबाट पर्वको उल्लास देखिएको छ ।

कोजाग्रत पूर्णिमाको विशेष अवसरमा महोत्तरी जिल्लाको रतौली गाउँबाट जानकी मन्दिरमा अर्पण गरिने १०८ वटा पाहुर यस वर्ष पनि परम्परागत शैलीमा ल्याइएको छ । पछिल्लो १५१ वर्षदेखि निरन्तर चली आएको यो परम्परा मिथिलाञ्चलको सांस्कृतिक जीवनशैलीको एउटा अमूल्य धरोहरका रूपमा स्थापित भएको छ ।

रतौलीका स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट सुरु गरिएको यो पाहुर परम्परा अहिले नविन ठाकुरको नेतृत्वमा निरन्तरता पाइरहेको छ । उनले भने, ‘यो हाम्रो पुर्खाबाट चली आएको परम्परा हो । यसलाई हामीले कुनै हालतमा टुट्न दिनेछैनौं ।’

पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल–तरकारीदेखि लिएर भगवान् राम र माता सीताको लागि विशेष कपडा समेत समावेश गरिन्छ । सोही पाहुरबाट जानकी मन्दिरमा भगवान् सीतारामको ‘चुमाओन’ गरिन्छ । यो विधि मिथिलाको धार्मिक परम्परामा अत्यन्त महत्वपूर्ण विधि मानिन्छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा विशेष धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यस दिन मन्दिरमा भजन–कीर्तन गरिन्छ । यसले धार्मिक वातावरणलाई अझ पवित्र बनाउँछ । साथै, हास्य–परिहासका कार्यक्रमहरूमार्फत आम जनसमुदायलाई रमाइलो गर्ने अवसर पनि दिइन्छ ।

उनले मिथिलामा सेतो परिकार (जस्तै चिउरा, दूध, मखान, खीर आदिको सेवन) गर्ने परम्परा रहेको उल्लेख गर्दै सोही अनुसार मन्दिरमा समेत उक्त परिकार अर्पण र वितरण गरिएको जानकारी दिए ।

कोजाग्रत पूर्णिमा मिथिलाञ्चलका नवविवाहित दम्पतीहरूका लागि पनि विशेष महत्त्व बोकेको पर्व हो । नवविवाहित बेहुलाको घरमा ससुरालीबाट विशेष पाहुर ल्याइन्छ । सो पाहुरबाट बेहुलालाई चुमाओन गरी वैदिक मन्त्रोच्चारणसहित शुभकामना दिइन्छ । यसलाई ’दुरवाच्छत’ भनिन्छ ।

पछिल्लो चरणमा बेहुलाको घरमा भोजभतेरको आयोजना गरिन्छ । आफन्त र छिमेकीलाई सेतो परिकार परोसिन्छ । साथै, गाउँगाउँमा पान र मखान बाँड्ने परम्परा पनि आजकै दिनसँग जोडिएको छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा हजारौं श्रद्धालुहरू जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा गर्न उपस्थित भएका छन् । विशेषगरी महिलाहरू व्रत बसेर लक्ष्मीको पूजा गर्ने परम्परा निभाइरहेका छन् । किनभने कोजाग्रत पूर्णिमा रातलाई ‘धनकी देवी लक्ष्मीको आगमन रात’ पनि मानिन्छ ।

पर्वले मिथिलाञ्चलमा धार्मिक आस्था मात्र नभई सांस्कृतिक पहिचान र समुदायबीचको एकता पनि बलियो बनाएको छ । परम्परागत चाडपर्वको संरक्षण र प्रवद्र्धनका लागि यस्ता परम्पराले गहिरो सन्देश दिएको स्थानीय संस्कृतिकर्मीहरू बताउँछन् ।