जनकपुरधाम, १७ असोज । देशभर दशैंको उत्सवले घरघर र शहर–शहर रंगिएको बेला मिथिलाञ्चल भने झिझिया लोकनृत्यको ताल र भाकाले अझै विशेष बन्छ । दुर्गा भगवतीप्रति भक्तिभाव, सामाजिक ऐक्यबद्धता र मौलिक संस्कृतिको पहिचानसहित प्रस्तुत हुने यो लोकनृत्य दशैंमा मिथिलाको अलगै आकर्षण बनेको छ ।

ग्रामीण भेगका महिलाले टाउकामा प्वाल पारिएको घैंटोभित्र दियो बालेर रातभर गीतसहित नाच्ने परम्पराले झिझियालाई मिथिला समाजमा अद्वितीय बनाएको छ । सुरिलो गीत, धार्मिक भाकाहरू र साहसिक प्रदर्शनसँगै दशैंमा झिझियाको रौनक छाएपछि मिथिलाको सांस्कृतिक राजधानी भनिने जनकपुरधाम र वरपरका गाउँ टोलमा रातभर चहलपहल देखिन्छ ।

झिझिया नृत्य केवल मनोरञ्जन मात्र नभई धार्मिक आस्था र साहसिक कलाको संयोजन हो । महिलाहरूले टाउकामा राखेको घैंटोमा असंख्य प्वाल पारेर भित्र दियो बालिन्छ र त्यसै घैंटोमाथि बलिरहेको आगोसहित रातभर नृत्य गरिन्छ । यो प्रक्रिया आफैंमा जोखिमपूर्ण भए पनि महिलाले साहसपूर्वक यो नृत्यलाई जीवन्त राखिरहेका छन् । यसैले झिझियालाई मिथिलाको मौलिक लोककलाको अद्वितीय नमुना मानिन्छ ।

मिथिलाञ्चलमा नवरात्रीभर झिझिया नृत्य गर्ने परम्परा रहेको छ । वर्षा ऋतुको बिदाइ र शरद् ऋतुको आगमनसँगै गरिने यो नृत्य देवी दुर्गाप्रति श्रद्धा अर्पण गर्ने एउटा विधि हो । यसमा देवीदेवताप्रति प्रार्थनासँगै जादु–टुनामुना गर्नेहरूप्रति व्यङ्ग्यात्मक गीत पनि गाइन्छ । आफ्ना सन्तानको दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै नाचिने यो नृत्य सामूहिक चेतना, सहकार्य र सद्भाव बढाउने सन्देश दिन्छ ।

समाज रूपान्तरणसँगै लोकपरम्परा क्रमशः हराउँदै गए पनि झिझियाले भने अझै जीवन्तता कायम राखेको छ । पछिल्ला वर्षहरूमा झिझिया नृत्य सभा सम्मेलनमा सीमित हुँदै गएको थियो । तर, स्थानीय युवा क्लबहरूको सक्रियताले यो नृत्य फेरि गाउँगाउँमा जिवन्त बन्न थालेको छ ।

सांस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘झिझिया केवल मनोरञ्जन मात्र नभई यसले हाम्रो मौलिकता, हाम्रो इतिहास र हाम्रो सामूहिक भावना बोकेको छ । यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’

झिझिया नृत्यलाई जीवित राख्ने मुख्य दायित्व मिथिलाञ्चलका महिलाले नै वहन गरिरहेका छन् । उनीहरू रातभर टोल–टोलमा गएर झिझियाको तालमा गीत गाउँछन्, नाच्छन् र गाउँ–समाजलाई सन्देश दिन्छन् ।

धार्मिक विश्वास, सामाजिक सद्भाव र पारिवारिक सुख–शान्तिका कामना समेटिएको यो नृत्य महिलाको नेतृत्वमा निरन्तरता पाइरहेकाले यसलाई मिथिलाको ‘सांस्कृतिक सम्पदा’ मानिन्छ ।

यद्यपि आधुनिकीकरण र आधुनिक मनोरञ्जनका कारण झिझियाजस्ता मौलिक नृत्यहरू जोखिममा परेका छन् । एक दशकअघि भन्दा अहिले कम महिलामात्र यसमा सक्रिय देखिन्छन् ।

स्थानीय सरकार, समाज र सांस्कृतिक संस्थाले यसलाई संरक्षण र प्रवद्र्धन गर्ने कदम नचाले निकट भविष्यमा झिझियाको मौलिक स्वरूप हराउने खतरा देखिन्छ ।

मिथिलाञ्चलमा दशैंको रौनक झिझिया नृत्यबिनै अधुरो मानिन्छ । सुरिलो भाका, आगोको साहसिक ताल र महिलाको सामूहिक प्रस्तुतीले गाउँ–शहर उज्यालो बनाउँछ । यसले दशैंलाई धार्मिक मात्र नभई सांस्कृतिक उत्सवका रूपमा पनि मजबुत बनाएको छ ।