–मुरली मनोहर मिश्र
जनकपुरधाम, १७ असोज ।
जनकपुरधाम, मिथिला सभ्यता र परम्पराको मुटु । जानकी मन्दिरदेखि मिथिलाका असंख्य सांस्कृतिक धरोहरसम्म यस शहरलाई उपमहाद्वीपकै आस्था र विश्वासको केन्द्र मानिन्छ । तर, विडम्बना आज यही आस्थाको नगरी अतिक्रमण, अव्यवस्था र भ्रष्टाचारको चपेटामा छटपटिरिहेको छ ।

सार्वजनिक भूमि, मन्दिर परिसर, पोखरी, पाटी–पौवा र ऐतिहासिक सम्पदा निजी स्वार्थका नाममा कब्जा हुँदै गएको छ । धार्मिक स्थल छेउछाउमा अनियन्त्रित होटल, बार, मदिरा र मासुको धन्दा खुलेआम चलिरहँदा न त स्थानीय प्रशासन तत्पर छ, न त समाज स्वयं बोल्न तयार । प्रश्न उठ्छ, ‘कसको डरले जनकपुर मौन छ?’

जनकपुरधामका नागरिकहरूले अतिक्रमण देख्छन्, अव्यवस्था महसुस गर्छन् । तर, आवाज उठाउँदैनन् । कारण छ, राजनीतिक, सामाजिक र प्रशासनिक दबाबको डर ।

अतिक्रमणकारी र भ्रष्ट तत्त्वहरू यही डरको व्यापार गर्दै आएका छन् । जनतालाई धम्की र प्रताडनाको भय देखाएर मौन राखिन्छ । र, यो मौनताबाट उनीहरूले झन् बढी फाइदा लिन्छन् ।

एक स्थानीय समाजसेवी भन्छन्, ‘यहाँ बोल्ने जो कोहीलाई राजनीतिक हस्तक्षेप हुन्छ, केस हालिन्छ, धम्की आउँछ । डरकै कारणले अतिक्रमणकारी बलियो बनेका हुन् ।’

जनकपुरधाममा धार्मिक स्थलसँगै रातारात होटल, बार र मांस–मदिराका पसल सञ्चालन भइरहेका छन् । जानकी मन्दिर, गंगा सागर, धनुष सागर र अन्य पवित्र स्थलको नजिकै यस्तो गतिविधि हुनु केवल भूमि अतिक्रमण मात्र नभई सांस्कृतिक आस्थामाथि सीधा प्रहार हो ।

मिथिलामा दुर्गा र सावित्रीको सम्मान गरिन्छ, देवीपूजामा समाज उठ्छ । तर, जानकी र जनकको संस्कृति माथि भइरहेको यस्तो अपमान देख्दा मौन बस्नु मूलतः डरकै परिचायक हो ।

धार्मिक विद्वान्हरू चेतावनी दिन्छन्, ‘यदि समाज मौन रह्यो भने मिथिला सभ्यता मात्र नभई भविष्यका पुस्ताहरूले आफ्नै इतिहास हराउनेछन् ।’

ऋग्वेदमा भनिएको छ, ‘वयं अमृतस्य पुत्राः’ (हामी अमृतका पुत्र हौं) । जबसम्म समाजले आफ्नो आत्मबोध र सांस्कृतिक शक्ति पहिचान गर्दैन, तबसम्म बाह्य शक्ति वा निकायले जनकपुरलाई जोगाउन सक्दैन ।