जनकपुरधाम, १३ असोज । दशैँको रौनक अहिले देशैभरि छाएको छ । देशका प्रमुख शक्तिपीठहरूमा दुर्गा पूजाको भव्य आयोजना भइरहेका बेला मिथिलाञ्चलका मठमन्दिरदेखि गाउँगाउँसम्म पनि देवीको आराधना भव्य रूपमा भइरहेको छ । जनकपुरधामलगायत ग्रामीण क्षेत्रमा देवीको मूर्ति निर्माण, पूजा र विसर्जन गर्ने परम्परा यस वर्ष पनि उतिकै आकर्षक बनेको छ ।

मिथिलाञ्चलमा मूर्ति पूजाको विशेष महत्त्व छ । यहाँका भक्तजनहरूले देवीदेवतासँग पारिवारिक सदस्यझैँ व्यवहार गर्छन् । जगतमाता सीता मिथिलाकी छोरी भएकी कारण उनका अन्य स्वरूप मानिने नवदुर्गा र अन्य देवीहरूलाई पनि मिथिलाञ्चलवासीले आफ्नै ‘चेली–बेटी’को रूपमा मान्ने चलन छ । यही कारण दशैंमा मूर्ति निर्माणअघि नवदुर्गालाई बेहुलीझैँ माइतीमा भित्र्याउने परम्परा विशेष आकर्षणका रूपमा स्थापित भएको छ ।

पूजाको अवधिभर देवीलाई माइती आएकी छोरीझैँ मीठा परिकार अर्पण गरिन्छ । विसर्जनको बेला भने सोहर गीत गाएर छोरीलाई बिदा गर्ने बेला झैँ भावुक क्षण सिर्जना हुन्छ । यसले दशैंलाई धार्मिक मात्र नभई भावनात्मक पर्वका रूपमा पनि स्थापित गरेको छ ।

संस्कृतिविद्हरू भक्तिका नौ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई मिथिलाञ्चलसँग जोड्छन् । जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दासले माता सीतालाई छोरीझैँ माया गरेर सेवा गरेका थिए । त्यस कार्यलाई उनका उत्तराधिकारी महन्थहरूले निरन्तरता दिँदै आएका छन् ।

वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्रप्रसाद विमलका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र नै देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्नु हो । ‘पूजा गर्दा टाढाको सम्बन्ध भन्दा पारिवारिक सम्बन्ध स्थापित गर्दा देवता अझ नजिक लाग्छन्,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडीले मिथिलामा केवल देवी मात्र नभई राम, कृष्ण, महादेव आदिलाई पनि घरका सदस्यझैँ व्यवहार गर्ने परम्परा रहेको बताए । ‘कृष्णलाई ‘किसना’ भनेर बोलाउने वा रामलाई भिनाजुजस्तै ठट्टा गर्ने चलन यसको जीवित उदाहरण हो,’ उनले भने ।

वेदकालीन समाज प्रकृति पूजक थियो । सूर्य, चन्द्र, पृथ्वी, आकाश र वृक्षादिको पूजा गर्ने परम्परा थियो । तर, मूर्ति पूजा हुँदैनथ्यो । उपनिषद् र पुराणकालसम्म आइपुग्दा मूर्ति पूजाको प्रचलन स्थायी भयो । विशेषगरी रामायणकालीन संस्कृतिको प्रभावका कारण मिथिलाञ्चलमा देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने संस्कार अझ गहिरो बन्यो । सीता मिथिलाकी छोरी भएकी कारण देवीलाई ‘माइतीको सम्बन्ध’ मान्ने प्रथा निरन्तरता पाएको हो ।

मूर्ति पूजाले केवल धार्मिक आस्था मात्र नभई सामाजिक सहजीवनलाई पनि मजबुत बनाएको छ । मूर्ति निर्माणदेखि विसर्जनसम्म श्रमदान, आर्थिक सहयोग र सामूहिक सहभागिताले समाजलाई एकताबद्ध बनाउँछ । महिलादेखि बालबालिका र वृद्धसम्म सबैको सक्रिय योगदानले यसलाई सामूहिक उत्सव बनाएको छ ।

मैथिली साहित्य र लोकगीतमा देवीलाई ‘चेली’का रूपमा सम्बोधन गरिन्छ । दशैँमा गाइने सोहर गीतहरूले छोरीलाई बिदा गर्दा हुने भावनात्मक क्षणलाई देवी विसर्जनमा जीवन्त ढंगले प्रस्तुत गर्छन् । यसरी देवीलाई पूजा गर्ने र आँसुभरि बिदा गर्ने परम्पराले भक्ति र वात्सल्यबीचको अद्वितीय सम्बन्ध उजागर गर्छ ।

आजको डिजिटल युगमा पनि मिथिलाञ्चलका युवाहरूले सामाजिक सञ्जालमार्फत मूर्ति सजावट, पूजा र विसर्जनको क्षणलाई प्रचार गर्दै परम्परालाई आधुनिक स्वरूप दिएका छन् । यसले भविष्य पुस्तामा सांस्कृतिक चेतना जगाउने काम पनि गरिरहेको छ ।

मिथिलाञ्चलमा मूर्ति पूजा केवल आस्था मात्र नभई सामाजिक, सांस्कृतिक र भावनात्मक सहजीवनको स्रोत बनेको छ । देवीलाई चेलीका रूपमा माया गर्ने यो परम्पराले धार्मिक संस्कारलाई जनजीवनमा अझै नजिक ल्याएको छ ।