जनकपुरधाम, १२ पुष ।नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो संस्करणमाथि जनकपुर बोल्ट्सले कब्जा जमाएपछि अहिले मधेशलगायत देशभरि उल्लास छाएको छ । सोहीक्रममा शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा एनपीएलका खेलाडीहरुलाई भव्य स्वागतसहित नगर परिक्रमा गर्दै ट्रफि परेड पनि गरिएको छ । प्रस्तुत छ, एनपीएल जितेर जनकपुरधाम आएका जनकपुर बोल्ट्सका कप्तान अनिल साहसँग टुडेआवाजका लागि गरिएको अन्तर्वार्ता संक्षेपमा ।

एनपीएलको पहिलो संस्करणमाथि नै जनकपुर बोल्ट्सले कब्जा जमायो । अहिले मधेशभरि उल्लासको वातावरण छ । खेलाडीहरुको सम्मानमा आज जनकपुरधाममा विजयोत्सव पनि निकालियो । कस्तो महसुस गर्दै हुनुहुन्छ ?

– खुसी लागिरहेको छ । हामीले एकदम राम्रो सपोर्ट पायौं । मधेश र नेपालभरिबाटै हामीले एकदमै राम्रो सपोर्ट पाएका थियौं । त्यसले गर्दा एउटा छुट्टै किसिमको उर्जा पनि हामीले पाइरहेका थियौं । हामी एकदमै उत्साहित छौं अहिले ।

तपाईं घाइते हुँदाखेरी एनपीएलको अन्त्यको २/३ वटा म्याच गुमाउनु पर्यो । फाइनल पनि खेल्न सक्नु भएन । त्यसबेला तपाईंको मनमा के चलिरहेको थियो ?

–एकदम गाह्रो भइरहेको थियो मलाई बाहिर बसेर । एकदम महत्वपूर्ण खेलहरु मैले गुमाउनु परेको थियो । मलाई चाहिँ एकदमै गाह्रो भइरहेको थियो । तर, खेल्न नसकेपनि म मेरोतर्फबाट मेरो टिमलाई कसरी सहयोग गर्न सक्छु त्यसमा चाहिँ ध्यान दिइरहेको थिए मैले । मेरो अफ द फिल्ड जुन कामहरु थियो त्यो चाहिँ गरिरहेको थिएँ ।

लिग चरणमा एउटा र क्वालिफायर एक पनि सुदूरपश्चिमसँगै पराजित हुनुभयो । फाइनलमा फेरि सुदूरपश्चिमसँगै भीड्नु भयो । त्यो सोंचेर के डर थियो ?

–कुनैपनि टिमसँग हार्दाखेरी अर्कोचोटी भिड्ने बेलामा मनमा अलिकति डर त भइहाल्छ नि । क्वालिफायरमा पनि हामी हार्यौं । त्यसपछि हामी टिममा डिस्कश गर्यौं कि हामी केमा चुकिरहेका छौं । सुदूरपश्चिामसँग खेल्दाखेरी कहाँ हाम्रो गल्तीहरु भइरहेको छ । त्यसमा हामी फोकश गरेर, त्यसको बारेमा हामी छलफल गरेर फाइनलको लागि तयारी गरिरहेका थियौं । हाम्रो माहौल पनि पोजेटिभ थियो । किनभने हामी दुईटा गेम हारेका थियौं । त्यसमा हामीलाई थाहा थियो कि हामी आफ्नौ गल्तीले गर्दा हारेका हौं । त्यो चाहिँ फाइनलमा हामी दोर्होयाउने थिएनौं । फाइनलमा हामीले क्वालिटि क्रिकेट खेल्नुपर्छ भनेर हामीलाई आशा थियो टिममा । र, हामीलाई विश्वास पनि थियो कि यदि हामीले राम्रो खेल्यौं भने हामी जित्छौं ।

आशिफ शेख यहाँहरुको सिनियर प्लेयर हुँदा पनि वहाँलाई क्याप्टेन नबनाएर अनिल साहलाई बनाइयो । त्यो बेला तपाईंको मनमा के चलिरहेको थियो ?

–मलाई खुसी लाग्यो । किनभने म त सानैदेखि आफ्नो जिल्ला, क्लबको क्याप्टेन हुँदै आएको छु । त्यहि भएर मलाई सायद दाईहरुले क्याप्टेनशिप दिनुभयो । म र आशिफ मिलेर नै काम गर्नुपर्छ भनेर टिममा पनि छलफल भइरहेको थियो । म आशिफसँग पनि समन्वय गरिरहेको थिएँ । र आशिफले मलाई यो कुरामा उसले आफ्नो मनदेखि नै मलाई धेरै सहयोग गर्यो ।

आशिफको बदला तपाईंलाई क्याप्टेन बनाइँदा कुनै चूनौति पनि थियो कि ?

–नाई त्यस्तो केही थिएन । टुर्नामेन्टभन्दा एकदिन अगाडि म क्याप्टेन हुँ भनेर एनाउन्स गरियो । हाम्रो टिमभित्र पहिले नै घोषणा भइसकेको थियो । आशिफसँग पनि कुरा भइसकेको थियो र आशिफले पनि मसँग कुरा गरिसकेको थियो कि हामी जो क्याप्टेन भएपनि सँगै मिलेर जानुपर्छ । टिमलाई जसरी पनि जिताउनु पर्छ । हामीले टिमको लागि खेल्नु पर्छ । हरेक निर्णयहरुमा म र आशिफ मिलेर नै काम गरिरहेका थियौं । कोच सरसँग पनि हामी बसेर निरन्तर छलफल गरिरहेका हुन्थ्यौं । आशिफले मलाई एकदमै सहयोग गर्यो ।

तपाईंको विचारमा एनपीएलले नेपाली क्रिकेटलाई कहाँ पुर्याउँछ ?

–एनपीएल सबैको लागि राम्रो हो । एनपीएल सोचेको भन्दा पनि धेरै राम्रो भयो । र आउने दिनहरुमा पनि राम्रो हुन्छ । एनपीएललाई सबैले मिलेर सहयोग गर्नुपर्छ । ठाउँको नाम लिएर डिभाइड गर्नुभन्दा पनि ओभरअल क्रिकेट र देशको लागि राम्रो छ । त्यहि भएर जो जो समर्थक हुनुहुन्छ वहाँहरु सबैको सहयोग र साथ चाहिन्छ । सबैजना मिलेर अगाडि बढनु पर्छ ।

मधेशमा गल्ली क्रिकेट खेल्ने धेरै क्रिकेटरहरु छन् । तर, ग्राउण्ड अभावले वहाँहरु ठाउँमा पुग्न सक्नु भएको छैन् । ग्राउण्ड अभाव कति ठूलो चूनौति छ ? नेतृत्ववर्गलाई पनि स्टेडियमका लागि अब चूनौति थपिएको छ । के भन्नुहुन्छ यसमा ? ग्राउण्ड अभावले कति प्रभाव पारिरहेको छ ?

–कहिँ पनि ग्राउण्ड छैन् । राम्रो सुविधा छैन । हाम्रो टिमले प्रदेशको आठवटै जिल्लामा एकेडमी खोल्ने कुरा भइरहेको छ । हाम्रो टिमकोतर्फबाट क्रिकेटलाई ग्रासरुटदेखि नै अगाडि बढाउने कुराहरु हुँदैछ । यसको बारेमा छलफल पनि भइरहेको छ । र, मलाई लाग्छ कि चारैतिर एकेडमीहरु खुल्यो भने क्रिकेटमा भविष्य राम्रो देखिरहेको छु ।

तपाईंले क्रिकेट कसरी सुरु गर्नुभयो ?

–जहाँसम्म मलाई याद छ । मेरो घरपछाडि मेरा गाउँका दाईहरु खेल्नुहुन्थ्यो । म वहाँहरुलाई हेरेर नै क्रिकेट सिकेको हुँ । घरपछाडि नै खेल हुँदाखेरि छुट्टै किसिमको एउटा उत्साह हुन्थ्यो । त्यहाँ हेरियो, टिभिमा बसेर म्याचहरु हेरियो अनि त्यस्तै हुँदाहुँदै सिकेको हो मैले ।

पहिलो पटक ब्याट समात्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ?

–म सायद दुई वा तिन कक्षामा पढिरहेको थिएँ । एकदम सानै थिएँ । म खेल्न पनि पाइरहेको थिएन । गएर हेरेर मात्र बस्थें । पछि दाईहरुलाइ नै हेरेर अगाडि बढेको हुँ ।

क्रिकेटमै क्यारियर पनि बनाउनु पर्छ भन्ने कुराको सोच मनमा कुन समयमा आयो तपाईंको ?

–सुरुमा मैले क्रिकेट सुरु गर्दा यसमा खासै फ्यूचर केही पनि थिएन । घरबाट पढाई गर्नुपर्छ भनेर प्रेसर थियो । तर, मलाई क्रिकेट खेलेर एकदमै खुसी लागथ्यो । जब मैले प्रोफेशनलि क्रिकेट सुरु गरें त्यसपछि मैले यसमै आफ्नो भविष्य पनि हेर्दै गएँ ।

आमाबुवा तयार हुनुहुन्थ्यो तपाईंलाई क्रिकेट खेलाउन ?

–छोराछोरी क्रिकेटर होस् भनेर कसैको पनि सोंच हुँदैन हाम्रो समाजमा । छोराछोरीले पढेर नै केही गर्नुपर्छ भन्ने सोच सबै अभिभावकको हुन्छ प्रायः । मेरो परिवारमा पनि म क्रिकेटर बन्छु भनेर कसैको सोच थिएन । मलाई पनि लागेको थिएन कि म क्रिकेटर बन्छु । तर, म क्रिकेट नै खेल्छु, यसमै आफ्नो क्यारियर बनाउँछु भनेपछि परिवारका सबैजना तयार हुनुभयो । र, आज वहाँहरुकै कारण म यो स्थानसम्म आइपुगेको छु ।

क्रिकेट यात्राको शुरुवात तपाईंले कहाँबाट गर्नुभयो ?

–म मकवानपुर हुँदाखेरी पहिलोचोटि यू–१६ को जिल्ला क्रिकेट टिममा परेको थिएँ । त्यहाँ जिल्लाको सेलेक्शन थियो । त्यहाँ दाईहरुले मलाई चिन्नुहुन्थ्यो । सेलेक्शन गेम खेल्नुपर्छ भनेर सबैले भन्नुभयो । प्रोफेशनलि म मकवानपुर हुँदाखेरी मेरो क्रिकेटको यात्रा सुरु भयो । म कक्षा ८ मा पढ्दा अन्तर विद्यालय क्रिकेटको क्रेज धेरै थियो । कक्षा ९ र १० का विद्यार्थीहरु क्रिकेट खेलेको हेर्दा धेरै राम्रो लाग्थ्यो । म पनि क्रिकेटमा निकै रमाउथे । पढ्न भन्दा बढी क्रिकेट खेल्न रहर लाग्थ्यो । मैले धेरै क्रिकेट खेल्यो भनेर अभिभावकले एसएलसीपछि हेटौंडा पठाईदिनुभयो । तर मैले हेटौंडामा पनि मैदान खोजेर क्रिकेट खेल्न थाले । क्रिकेट प्रतियोगिता खेल्न भारत पुगे । त्यसैकारण मेरो कक्षा १२ को परीक्षा समेत छुट्यो । तर मलाई क्रिकेट खेल्न पाएकाले परीक्षा छुटेको पिर थिएन । पछि अभिभावकले पनि क्रिकेटप्रतिको मोह बुझ्नुभयो र साथ दिनुभयो । अनि मैले अझै मेहनत गरेर क्रिकेट खेल्ने अवसर पाए ।

आफ्नो प्रदर्शनलाई कसरी लिनुभएको छ ?

टिमको अगाडीको ब्याट्सम्यान भएपछि रन बनाउनुपर्ने जिम्मेवारी हुन्छ । दर्शकको पनि अपेक्षा हुन्छ । सोचेअनुसार रन बनाउन नसक्दा चुके भन्ने लाग्छ तर प्रयास भने नगरेको होईन । टिमका हिसाबले भन्नुपर्दा हामीले सबै खेलमा राम्रो प्रतिस्पर्धा गरेका छौं । त्यसैले होला नतिजा पनि त्यहि हिसाबले आएको छ ।