‘के पुरूष मात्र अहंकारी र अत्याचारी, महिलाको हरेक गल्तीको माफि ?’

–ज्योति झा
जनकपुरधाम, १२ चैत । भनिन्छ, महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । रथलाई सहि ढंगले चलाउन दुईटै पाङ्ग्रा सहि हुनुपर्छ । नत्र दुर्घटना हुनसक्छ । तर, के हाम्रो वास्तविक जिवनमा यो नियम लागू छ त ? यस सुन्दर सृष्टिको सबभन्दा सुन्दर उपहार भनेकै मनुष्य हो । यहाँ पुरूष बिना नारी र नारी बिना पुरूषको केहि अस्तित्व नै छैन । दुबै एकअर्काका पुरक हुन् । त्यहि भएर एकलाई अपमान, अपहेलना र अर्कोलाई सम्मान नभई दुवैलाई बराबरीको अधिकार, स्वतन्त्रता दिनुपर्छ ।
उनी महिला हुन् त्यहि भएर उनी अब्ला नै हुन् भन्ने हुँदैन् । वा, पुरूष हरेक कुरामा हरेक समय गलत नै हुन्छन् । उनीहरु अहंकारी, अत्याचारी, बलात्कारी मात्र हुन्छन् भन्ने पनि होइन । हामीले आजसम्म आफ्नो टोलछिमेक, रेडियो, पत्रपत्रिकामा महिला हिँसा मात्र सुन्दै र पढदै आएका छौं । मैले पनि आजसम्म महिला हिंसामाथि मात्र लेख्दै आएकी छु । हिंसाको कुरा आउने बितिकै हाम्रो दिमागमा महिला हिँसा मात्र आउँछ ।
पीडित महिला र पीडक पुरूष नै हुन्छन् भन्ने कुरा सोच्न हामी रत्तिभर पनि समय लगाउँदैनौं । तर, वास्तवमा महिला मात्र नभई पुरूष पनि हिंसाका सिकार हुन्छन् । र, अहिले त झन पुरूष हिंसा दिनानुदिन बढ्दै गएको छ । तर, प्रकाशमा आएको छैन वा भनौं ल्याउन चाहिएको छैन ।
पुरूष अर्थात् छोरा अथवा लोग्ने जसलाई सानैदेखि जिम्मेवारीको बोध गराइन्छ । तिमी केटा मान्छे रूनु हुँदैन, रोयौ भने सबै हाँस्छन् । तिमीले मेहनत गर्न सिक्नैपर्छ, तिमीमाथि परिवारका सबै सदस्यलाई पालनपोषण गर्ने जिम्मेवारी छ । तिमी एउटा पेन्ट शर्ट लगाउँदा पनि हुन्छ । र, त्यहि बच्चा भोलि ठूलो भएपछि उसलाई जति ठूलो पीडा अथवा समस्या आउँदासमेत ऊ चुप हुन्छ । यहाँसम्म कि ऊ हिंसाको सिकार भइरहँदा पनि चुप बस्छ । उसलाई डर लाग्छ कि यदी मैले कसैसँग आफ्नो पीडा शेयर गरें भने मेरो समाज, परिवार साथीभाइको बिचमा मजाक बनला, उनीहरूले के भन्लान् । यही संकोच र डरले गर्दा चुपचाप सहेर बस्न बाध्य हुन्छ पुरूष । हिन्दीमा एउटा उखान छ, ‘जान जाये पर सान न जाये’
आफ्नो पुरुषार्थमै समाजले प्रश्न चिन्ह लगाइदेला भन्ने डरले पनि पुरूष सबथोक सहेर बसेका हुन्छन् । पुरुषको तुलनामा महिलाले रोई कराई आफूमाथि भएको हिंसा खुलेर बोल्न र प्रतिवाद गर्न सक्छिन् र गर्छिन पनि । तर, पुरूष स्वभावैले बलियो हुने र लोग्ने मान्छे रुनुहुँदैन यो कायरता र लाचारिपन हो भन्ने सोचले गर्दा आफूमाथि परेको जस्तोसुकै पीडा पनि लुकाउँछन्, देखाउन चाहँदैनन् । र, त्यहि देखाउन नसक्ने पीडाले पुरुषलाई मानसिक रोगी बनाउँछ ।
तपाईं महिला हुनुहुन्छ भन्ने पक्कै यो सोच्दै हुनुहुन्छ होला कि यो पितृसत्तात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चलिआएको महिलाप्रतिको भेदभावपूर्ण व्यवहार नेपाली समाजमा व्याप्त छ । र, यस्तो समाजमा मैले पुरूष हिंसाको कुरा गर्दा अचम्म पनि लाग्न सक्छ । पुरूषप्रधान समाजमा पुरूष हिंसा पनि हुन्छ । हुन सक्छ भनेर कसैले कल्पना समेत गर्न सक्दैनन् । तर, साँचो त यही हो कि पुरूष हिंसा पनि दिनानुदिन बढिरहेको छ ।
हामी जतिखेर कुरा गर्दा आमाको कुरा गर्छौ । ९ महिना पेटमा राख्ने आमा, आमा जननी, आमा भन्दा ठूलो कोही छैनन् । आमाबाटै हाम्रो हाँसो । आदी इत्यादी । तर, त्यस हाँसो पछाडि बुवाको बलिदानी, मेहनत, पसिना, दुःखलाई हामीले हेर्दैनौं । बच्चा आमाको पेटमा हुन्छ तर त्यो ९ महिना स्याहार सुसार, खानपान, चिकित्सकको उपचार खर्च सबै बुवाको काँधमा हुन्छ । बच्चाको राम्रो भविष्य पढाइ लेखाइको जिम्मेदारी बुवाकै काँधमा हुन्छ ।
हामी सधंै आमाको आँसुको कुरा गर्छौ । तर, खेतमा कोदालो चलाउने, अफिसमा हाकिमको गाली खाने र घरमा पनि परिवारको आर्थिक भार थाम्ने, जहाँबाट भएपनि जिम्मेवारी पुरा गर्न पछाडि नहट्ने बुवालाई कसरी बिर्सिन्छौं हामी ? भान्सामा आइमाईले पकाएको मिठो खाना त हामी हेर्छौं तर, त्यो भान्सा चलाउने व्यक्तिलाई भने बिर्सन्छौं ।
विदेशिएका पुरूष सधैं ५० डिग्रीको तापक्रममा उसिनेर घरमा पैसा पठाएकै छन् । आफू नुनरोटी खाएर पनि परिवारका लागि आफ्नो व्यक्तिगत इच्छा र सपनालाई धेरैले मनभित्रै दवाएका छन् । आज प्रायः मानिसका पक्की घर छन् । तर, त्यो घर बनाउन एउटा पुरूष कति मेहनत र खुन पसिना बगाएका हुन्छन् त्यो भने कसैले हेर्दैनन् । विडम्बना त के छ भने महिलामाथि हुने हिंसा सुनिदिने थुप्रा निकायहरू पनि छन् । तर, पुरुषको विषयमा न त पुरूष नै खुलेर आउँछन्, न त पुरुष अधिकारको विषयमा आवाज उठाउने त्यस्ता संघसंस्था नै छन् । नेपालमा पुरूष शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा महिलाबाट पीडित हुने गरेको भन्दा अतिश्योक्ति नहोला ।
जस्तै हरेक महिला सीता होइनन् त्यस्तै हरेक पुरुष पनि रावण होइनन् । महिला सशक्तिकरणका लागि बनाइएका महिलामैत्री कानूनको गलत प्रयोग गर्ने महिलाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । केहि अधिकारकर्मी पैसाकै लागि गलतको साथ जानेर भएपनि दिएकै छन् । जुन कसैसँग लुकेको छैन् ।
महिला अधिकार र महिलामाथि आँखा बन्द गरी यति विश्वास गरिन्छ कि यसको परिणाम अहिले विचारा केहि पुरुषहरुलाई गार्हो नै बनाएको छ । अहिले त झन आधा सम्पत्ति पाउने लोभले प्रेमको नाटक गरेर बिबाह गर्छन् । र, पछि सम्बन्धविच्छेद गरि सम्पत्तिको हक खोज्छन् ।
हाम्रो देशमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्र गर्छन् भन्ने मानसिकता छ । महिला गल्ति गर्दैनन्, महिला भनेकै सहेर बस्ने, सुल्झेको, समझदार प्राणी हो भन्ने आम बुझाइ छ । तर, हेप्ने होच्याउने ठाउँ आयो भने महिलाले पनि बाँकी राख्दैनन् । प्रेमको नाममा पनि कति पुरुष पीडित छन् । प्रेम गर्ने बहानामा स्वार्थ लुट्नेको कमि छैन । मन मिलेसम्म प्रेम, नमिलेपछि बलात्कार, त्यसपछि जेल, क्षतिपूर्ति । यस्ता कतियौं उदाहरण त हाम्रै आँखा अगाडि छन् । अहिले महिला भन्दा पुरूष बढी त्रासमा छन् । उनीहरूलाई डर लाग्छ कि कसैले फसाइदेलान । किनभने कुनै पुरुषलाई यौन हिंसाको आरोप लग्नासाथ उसलाई अपराधी ठहराइन्छ । उसमाथि कडाभन्दा कडा कारवाहीको माग उठ्छ । चर्चा व्यापक हुन्छ । मिडियाको ब्यानर समाचार बन्छ । पत्रपत्रिकामा उसको नामसहित छापिन्छ कि फलानो बलात्कारी समातिए । फलानो महिला कति साहसी जसले अपराधलाई बाहिर ल्याउने साहस गरिन् । त्यतिबेला विचारा ति पुरुषलाई पत्याउने कोही हुँदैनन् ।
महिलाको तुलनामा पुरुषको जिवन कहाँ सजिलो छ र ! सानै हुँदा हिम्मत साहस र जिम्मेवारीको पाठ सिकाइन्छ । ठूलो भएपछि आमाबुवाको जिम्मेवारी त्यसपछि स्वास्नी, बच्चा । उसलाई आफ्नो व्यक्तिगत इच्छा आकांक्षा जहिले पनि मनभित्रै दवाएर राख्नुपर्ने हुन्छ ।एउटी महिला चाहे त्यो गरीब नै किन नहोस् । उनीसँग घर र बाहिर लगाउने कम्तीमा दुई जोडी लुगा त पक्कै हुन्छ । धनिको त कुरै नगरौं । तर, एउटा पुरुषले दुई जोडी लुगामा आफ्नो आधा जीवन नै बिताइदिन्छन् । उसलाई आफ्नो व्यक्तिगत आवश्यकताभन्दा पनि आफ्नो स्वास्नी, बच्चाको रहर पूरा गर्नुपर्ने हुन्छ । घरमा कमाउने व्यक्ति पुरूष तर सोख श्रृंगार पुरा गर्ने अधिकारी महिलामात्र हुिन्छन् ।
एकजना अमन (नाम परिवर्तन)ले भन्नुभयो, ‘म गाउँको बासी । म मेरा परिवारसहित गाउँमै बस्थे । म भारतमा काम गर्छु । मैले सकेजति आफ्नो जिम्मेवारी निभाएकै थिए । तर, पनि म गाउँ आउँदा मेरो बुढी मसँग झगडा गथिनर्् । तेरो आमा बुवासँग बस्नु छैन् । अल्लगै सहरमा बस्छु भनेर दिनहुँ झगडा गर्थिन । एक त एक्लै सबैसँग टाढा भारतमा बस्थें । कहिलेकाँही आउँदा घरमा कचकच, अशान्ति, झगडा हुन्थ्यो । विवश भएर स्वास्नी र बच्चासहित जनकपुर आएँ । कोठा भाडा लिएर परिवारलाई राखें । सबै जोडजाम गरेर फेरि भारत फर्कें । सुरुमा सवै ठिक थियो । म जति कमाउँथे स्वास्नीलाई पठाउँथे । आफूसँग पकेटमनिको रुपमा एक हजार रुपैयाँ मात्र राख्थे । सबै ठीकठाक चलिरहेको थियो । उसले पछि म पनि काम गर्छु भनेर जिद्दी गर्न थालिन् । मेरो मञ्जुरी थिएन तर उसको जिद्द अगाडि म फेरि नतमस्तक भए । उनी कुनै स्कूलको रिसेप्सनमा बस्थिन् । विस्तारै उसको धेरै जनासँग चिनजान बढ्न थाल्यो । उसको व्यवहार पनि बद्लियो । म कहिलेकाँही मात्र आउँथे । एक हप्ता जति बस्थे । तर, उसको व्यवहारले म छक्क पर्थे । उ राति राति आउँथि, प्रायः सधैं होटलबाटै खाना खाएर नै आउने उसको बानी नै भइसक्यो । म उसँग प्रश्न गर्दा सधैं मसँग उल्टै झगडा गर्थिन् । के मैले प्रश्न गर्न पनि नमिल्ने ? मेरा बच्चाहरूलाई पनि उसले मविरुद्ध उक्साउन थालिन् । अहिले मेरी स्वास्नी मसँग सम्बन्धविच्छेदको माग गरिरहेकी छन् । र, किन नहोस् अहिले पैसा र पावर सबै उसँग नै छ । सबैसँग उसको निकै चिनजान छ । मैले केहि वर्ष मात्र आमाबुवाको लागि त्यसपछि जे कमाए सबै स्वास्नीमाथि नै लुटाए । तर, आज म केहि छुइन् । न त आमाबुवाको नजरमा राम्रो सन्तान बन्न पाएँ । र, जसको लागि सबैथोक छाडेर जनकपुरधाम आए । आज उसको नजरमा पनि म मान्छे नै होइन् ।’
त्यस्तै जनकपुरकै एकजना सुनिल (नाम परिवर्तन)ले एउटी विवाहिता महिलासँग बिबाह गर्यो । उनले भने, ‘बिबाहपश्चात् उसको मान सम्मान, प्रतिष्ठा, प्रेम केहिमा मैले कमी गरिन् । हाम्रो शुरुवाती दिन ठिकै थियो । तर, पछि उसले आफ्नो अर्कै ताल देखाउन थालिन् । उनी घरको काम गर्नै नमान्ने, मेरो आमालाई अपमान गर्थिन्, केटा मान्छे जस्तो रक्सि, चुरोट, पराग खान थालिन । मैले धेरै पटक सम्झाए ।तर, उनी सुध्रिनन् । एउटी आइमाईलाई मात्र भगवानले गर्भ बोक्ने क्षमता दिएको हुन्छ र नशा गरेमा समस्या आउँछ । त्यहि भएर मैले उसलाई धेरै सम्झाए । पछि उनी कोठा लिएर बेग्लै बसेपनि आफू बदलिने वाचा गरिन् । मैले सबथोक छोडेर कोठा भाडामा लिएर बस्न थाले । केहि दिन ठिक थियो । ऊ पनि काम गर्थिन् म पनि गर्थे । उनी नशा सेवन गर्थिन् । तर, मसँग लुकेर । म अन्जान थिए । मलाइ लाग्यो उनी सुध्रिसकिन् । उसले मलाई बाहिर गएर पैसा कमाऊ, भोलि हाम्रो भविष्य राम्रो हुन्छ, बच्चाको लागि ठिक हुन्छ भनेर मलाई ओझेलमा पारिन् । मैले तत्काल उसको कुरा पत्याए किनभने मैले उनीसँग साँचो माया गरेको थिए । म बाहिर गए । मैले काम गरेको सवै पैसा उसलाई पढाउँथे । पछि थाहा पाउँदा सामान र पैसा दुवै लिएर उनी अर्कैसँग गइन् । म आएर उसलाई पागल जस्तो खोज्न थालें । उसले मेरो नम्बर ब्लकलिस्टमा राखेकी थिइन् । कति मेहनतपछि उसको केटा साथीको नम्बर पत्ता लाग्यो उनीसँग कुरा गरें । त्यति भइसक्दा पनि मैले उसलाई गुहार लगाएँ, तिमी आइहाल तिमी जे भन्छौ त्यो म गर्छु तर, मसँग टाढा न जाऊ । उसले मलाई धम्की दिइन् कि तिमीले मलाइै मजबूर गर्यौ अथवा मेरो पछाडि आयौ भने तिम्रो परिवारलाई बर्बाद पारिदिन्छु, उसले आफ्नो पावर देखाइन् । म विचारा गरीब मान्छे । मसँग केहि थिएन । न त राम्रो जागिर, न पावर, न पैसा । म चुप लागें । ‘यहाँ सबैले महिलालाई मात्रै पत्याउँछ तर, पुरुषको व्यथा सुन्ने कोही छैनन्, ’उनले भने, ‘उनी अर्कैसँग बिहे गरेर जिवन बाँचिरहेकी छिन् । तर, अहिलेसम्म दोषी भने म नै ठहरिन्छ ।’
त्यस्तै एकजना पंकज (नाम परिवर्तन)ले भने, ‘म पढाइ लेखाइमा अब्बल थिएँ । मेरो जिवनको लक्ष्य भनेकै चिकित्सक बनेर समाजको सेवा गर्ने मात्र थियो । तर, सोहीक्रममा कसैसँग माया बसेर मेरो जीवनको उल्टो दिन सुरु भयो । हाम्रो प्रेम सम्बन्ध तिन वर्षको थियो ।सबथोक ठिकठिकै चलिरहेको थियो । म प्रायः अस्पतालमा व्यस्त हुन्थे । त्यसकारण हाम्रो झगडा पनि हुन्थ्यो । उनले ममाथि बिबाहको दबाब बनाउन थालिन् । तर, यता म भने केहि दिन बिबाह गर्न चाहिरहेको थिएन । मैले आफ्नो क्यारियर बनाएर बिबाह गर्छु भन्ने कुराको उसलाई वाचा गरेकै थिएँ । तर, उ जिद्दिले मानिनन् । उसले इन्गेजमेन्ट गरौं बिबाह पछि गरौंला भनेर प्रस्ताव राखिन् । मैले पनि हामी इन्गेजमेन्ट गयौंं भने ऊ खुशि हुन्छे भनेर लाग्यो । मलाई मेरो काममा बाधा आउँदैन । हामी पछि बिहे गरौंला भनेर पहिला इनगेजमेन्ट गरें । हाम्रो इन्गेजमेन्ट भयो । तर, केही दिनमै उनले फेरि बिहेको दबाब दिन थालिन् । पछि हाम्रो बिहे पनि भयो । तर, बिडम्बना उसले आफ्नो जिद्दको अगाडि न मलाई पहिले बुझिन न त बिबाह पछाडि नै । मलाई लाग्यो सायद ऊ बदलिन्छ । मलाई बुझ्छ । तर, मैले सोचेको भन्दा ठिक उल्टो भयो । उनी आफैं नबदलेपनि मेरो जिवन भने बदलिदिइन् ।’
‘हाम्रो बिहेपश्चात् सम्बन्धमा झन समस्या बढ्न थाल्यो । उसलाई थाहा थियो म चिकित्सक छु, ’पंकजले भने, ‘मेरो पेसामा न दिन हुन्छ न रात । र, यो कुरा उसलाई पहिला देखि नै थाहा थियो कि मसँग समयको अभाव हुन्छ । म थाकेर कामबाट घर फर्किन्थे । अस्पतालमा बिरामी जाँच गर्दा मन विचलित हुन्थ्यो । मेरो त दिनरात काम एउटौ थियो । बिरामीकै बिचमा समय बित्थ्यो । घर आएर आराम गर्ने ।घरमा पत्नीको माया, प्रेम, स्नेह र मिठो बोलीको अपेक्षा सबैलाई हुन्छ । मेरो पनि थियो । तर, म घर आउनेबित्तिकै उनको गालिगलौजबाहेक मैले अन्य केही पाइन । झगडाको क्रममा मैले उनीमाथि हाथ उठाएको हो भने उसले पनि मलाई छाडेको होइन । अनि दोषी म मात्र कसरी ? मैले अथवा मेरो परिवारका अन्य सदस्यले चोरी त पक्कै गरेका छैनौं । केटिलाई बिहे गर्न मजबुर पनि मैले गरेको छैन् । हामी बराबरीको कुरा गर्छौं । तर, मसँग विभेद भएको छ । मेरो मान, सम्मान, प्रतिष्ठा र नोकरी सबै गुम्यो । म मात्र अपराधी ? तर, उनी महिला भएका कारण उनलाई सबै माफ ?’
हाम्रो समाजमा लोग्नेको सम्पत्तिमा स्वास्नीको सतह अधिकार आफैं हुन जान्छ । तर, स्वास्नीको सम्पत्तिमा लोग्नेको कुनै अधिकार हुँदैन । अचम्मको कुरा । यो कस्तो बराबरीको अधिकार ?
छोराछोरीलाई आमाबुबाको सम्पत्तिमा बराबरको अधिकारी हुन्छ अरे । छोरालाई घर र छोरीलाई उसको बिबाहमा सम्पत्ति दिइन्छ । र, वर्षौंदेखि चल्दै आएको चलन पनि कि छोरीलाई दाइजोको रूपमा उसको हक उसलाई दिइन्छ । त्यो सम्पत्तिमा पुरुषले आफ्नो अधिकार जमाए श्राप लाग्छ अरे ! हाम्रो देश र समाजको कानून, नियम र सिस्टम यस्तै छ त ? दाइजोप्रथा धेरै पहिला देखि नै चल्दै आएको छ । र, अहिले पनि यथावत छ । तर, जे होस् नयाँ कानुन बन्यो । बराबरीको कुरा उठ्यो । समान अधिकारको कुरा उठ्यो । दाइजो लिने र दिने दुबै अपराधि हुन् भनेर घोषित गरियो ।
हाम्रो समाजमा पुरूष भन्दा महिलालाई नै सजिलो देख्छु म त । महिला सुन्दर छिन्, बोल्न जानेकी छिन् भने पीएचडी गरेको पुरुषको तुलनामा पनि एउटी एसएलसी पास महिला अगाडि हुन्छिन् अरे । धेरै यस्ता उदाहरण छन् हाम्रै समाजमा ।
महोत्तरीका एकजना शिक्षक (नाम र ठेगाना उल्लेख नगर्ने सर्तमा) आफ्नो कुरा राख्दै भने,‘म एउटा सामान्य परिवारमा हुर्केको हुँ ।पैसाको अभावले मैले मेरो पढाइ पुरा गर्न सकिन् । म मेरो गाउँकै एक नीजि विद्यालयमा शिक्षक भएर काम गरिरहेको थिए । म मेरो पेशाले खुशी र आत्मसन्तुष्ट थिए । समयक्रसँगै घरपरिवारकै सल्लाहअनुसार मेरो बिहे भयो जनकपुरधाममा । म आत्मविश्वासी र मेहनति भएकै कारण मेरो ससुराले मलाई रोज्नुभयो । मेरो बुढी पेशाले डाक्टर हुन् । बिबाहको शुरुवाती ६ महिनासम्म हाम्रो सम्बन्ध एकदम राम्रो थियो । उनी जागिरे भएकोले आफ्नो कामका कारण प्रायः जनकपुरमै बस्थिन् । म भने गाँउमै बसेर काम गर्थें । हाम्रो जीवन राम्रै चलिरहेको थियो । तर, पछि खै के भयो उसलाई मदेखि टाढा हुन् चाहन्थिन् । मसँग घुम्न, हिँड्न पनि उसलाई लाज लाग्न थाल्यो अरे !मसँग जहिल्यै कुरा हुँदा मलाई तल देखाउँथिन् । उनी एउटी चिकित्सक, म भने एउटा सामान्य शिक्षक । उसलाई मसँग मेरो जागिरका कारण लाज लाग्थ्यो रे । विस्तारै यतिसम्म भयो कि अहिले उनी मसँग सम्बन्धबिच्छेदका लागि अदालतसम्म पुगेकी छिन् ।’
यहाँ सबै भन्छन् कि महिला मात्र पीडित हुन्छन् । तर, एउटा पुरुषको मनभित्र कति पीडा हुन्छ भन्ने कुरा कसले बुझ्ने ? मलाई अचम्म लाग्छ । जागिरे, पढेलेखेका केटाले बेरोजगार, आफूभन्दा कम हैसियतको केटिलाई यदि आफ्नो श्रीमती बनाउन तयार हुन सक्छन् भने एउटी पढेलेखेकी केटीले बेरोजगार, कम पढेको, सामान्य जागिरे (दुई छाक टार्न सक्ने हैसियत भएको) केटालाई आफ्नो जीवनसाथी बनाउने हिम्मत किन राख्दैनन् ? आजको युगमा के एउटी चिकित्सक पेशामा आबद्ध महिलाले कुनै बेरोजगार केटालाई अपनाउन सक्छन् ? पक्कै सक्दैनन् । हाम्रो समाजमा अनपढ महिलालाई (हेप्न खोजिएको होइन) पनि आफूभन्दा माथिल्लो हैसियतको जीवनसाथी चाहिन्छ ।
इन्जिनियरीङ्ग गरेका केटाले एसएलसी पास केटिलाई आफ्नो घर भित्राउँदा उसको इज्जत नजाने तर, त्यही इन्जिनियरीङ्ग गरेकी केटीले एसएलसी पास केटासँग बिहे गर्दा हैसियतको कुरा आउँछ ? समानता नारा र भाषणमा मात्र ? व्यवहारमा खोई त देखिएको ? महिलाहरू आफ्ना श्रीमानको उनीहरूको भन्दा तल्लो स्तरको पद छ भने अरूलाई सुनाउँदैनन् तर माथिल्लो, अलि चिनिएको पद छ भने ठूलै स्वरले चिनाउँछन् । अनि सबैले भन्छ महिला बेचारी हुन, सहनशील र भलादमी हुन् । कस्तो अचम्म..!
महिलालाई मात्र धेरै पीडा छ भन्ने छैन, पुरुषको पनि त्यो भन्दा कम पीडा छैन । फरक यति छ कि महिला खुलेर बोल्छिन् तर पुरुषले कुरा लुकाउँछ । पुरुषको आँखामा आँशु हुँदैन । तर, उनीसँग भावनाको भने कुनै कमी हुँदैन । माया दर्शाउने तरिका महिला भन्दा भिन्न हुन्छ पुरुषको, सहि मुखले केहि भन्दैन । तर, परिवारको चिन्ता, माया र सदभाव सबैभन्दा बढि हुन्छ पुरुषलाई । अफिसदेखि घरसम्म सबथोक ब्यालेन्स गर्दै जीवन बित्छ पुरुषको ।
(लेखक नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष हुन्)

