–ज्योति झा
जनकपुरधाम, २७ साउन । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्वीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूईटा शब्द जोडिएका छन्, ‘रक्षा’ र ‘बन्धन’ । रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छन् भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह नजदीकी र प्रेम ल्याउँछ । हुनत यो चाड श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ । र जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ ।

आजको दिन बहिनिहरुले आफ्ना भाइका हाथमा पवित्र धागो ‘राखि’ बाँधेर टिका लगााई मिठाई खुवाउँछन । भाइले पनि बहीनिलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहीनिको रक्षा गर्ने वाचा गर्छन । हुनत रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनिको त्योहार नभएर आफू भन्दा ठूला बडाले सानोलाई रक्षा र आर्शिवाद स्वरुप बाँधने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थ्यो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्छन । त्यो धागो बोकेर गााउँ गाउँ गएर सबै जनालाई रक्षाबन्धन बाँधी टिका लगाइदिने गर्थे । बदलामा शिष्य यजमानहरु ब्राहमणलाई दक्षिणा, वस्त्र, पैसा उपहार दिने गर्थे । र घरका बुजुर्गहरु आफूभन्दा सानोलाई धागो हाथमा लगााइदिने र सानोले ढोगेर आर्शिवाद लिने गर्थे ।

श्रावण पूर्णिमाको दिन मन्दिरमा विशेष पूजा अर्चना हुन्छ र रक्षाबन्धनको दिन दानपूण्य गर्नुको केही बेग्लै महत्व पनि छ । यसको एउटा पौराणिक कथा पनि छ, कुनै युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयंकरं युद्ध चलेको थियो । त्यस युद्धमा असुरहरुले देवताहरुमाथि विजयी प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिए । त्यो दिन श्रावण चतुर्दशीको दिन थियो । अतस्देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जित पनि भएको थियो । वास्तवमा त्यो पवितत्राको रक्षासुत्र थियो ।

एउटा भनाइ पनि छ कि जसले यस पवित्रताको राखी बधांउछ उ यमदुतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । हाम्रो मिथिलामा राखि भगवानलाई चढाउने परम्परा पनि छ भगवानलाइ राखि बाँधेपछि उहाँले हाम्रो रक्षा गर्नुहुन्छ भने विश्वास र श्रद्धा छ हाम्रो । र यति मात्र नभई रक्षासुत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो ।

श्रावण मासमा ऋषिगण आश्रममा बसेर अध्ययन र यज्ञ गर्थे । श्रावण पूर्णिमाको यज्ञको पूर्णाहुति हुन्थ्यो । यज्ञ समाप्त भएपछि यजमान र शिष्यलाइ सुत्र बाँध्ने प्रथा थियो । त्यही भएर पनि यसको नाम रक्षाबन्धन पर्यो । तर, बदलिंदो युगसँगै आजकल राखीलाई प्रमुख रुपमा भाइ बहीनिको पर्व मानिन्छ । बहीनीहरुलाई एक महिना अगाडी देखि नै यस पर्वको प्रतिक्षा हुन्छ । यो अवसरमा जो विवाहिता महिला छन् उनीहरु ससुराबाट माइति जान्छे र भाइको हाथमा राखि बाँध्छे । टीका लगाई मिठाई खुवाउँछे र भाइले पनि उपहार स्वरुप केही न केही दिन्छन ।

रक्षाबन्धन पारिवारिक मेल मिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनको अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रगं विरंगी राखिले पसल सजेको हेर्न सकिन्छ । मिठाईको पसलमा पनि त्यतिकै भिड हुन्छ ।