हामी यसरी लापरवाह नबनौं !

–ज्योति झा
जनकपुरधाम, १४ असार । युग परिवर्तन हुँदै गइरहेको छ । योसँगै मानिसको जीवनमा उतार चढाव, सुख सुविधा र समस्या पनि बदलिँदै गईरहेको छ । हुन त चार युग हुन्छन् । द्वापर युग, सत्ययुग, कलयुग र त्रेतायुग । हामी अहीले कलयुगमा छौं ।
सत्ययुग, जहाँ मानिसको आयु लामो हुन्थ्यो । मानिस ज्ञान, ध्यान र तपमा लिप्त हुन्थे । सत्य बोली र सत्य कर्म थियो । मनमा चाहेको कुरा पुरा हुन्थ्यो ।
त्रेतायुगमा बढी यज्ञ गर्ने प्रवृति थियो । मान्छे कर्म गरेर कर्म फल पाउँथे । हाम्रो धार्मिक मान्यता पनि छ कि त्रेतायुगमा भगवान रामको जन्म भएको थियो ।
त्यसपछि आयो द्वापरयुग । यो युगमा वेदको ४ भाग भयो । मानिस धर्मको मार्गबाट टाढा हुन थाल्यो । अधर्म र पाप बढन थाल्यो । सायद हजुरको मनमा प्रश्न पलाएको होला वेद के हो ?
वेद हाम्रो पवित्र साहित्य हो । हिन्दूको प्राचीनतम र आधारभूत धर्मग्रन्ध हो वेद ! वेद विश्वको सबैभन्दा प्राचीन साहित्य हो । वेद ४ ओटा हुन्छन् । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद ।
अहिले हामी कलयुगमा छौं, जहा मानिसको धेरै औसत आयु ९० वर्ष हुन्छ । तर प्राय बाच्ने भनेको ६०–७० त्यो पनि हजारौं थरीका रोग लिएर । अहिले त अल्पायुमा मर्नेको संख्या पनि त्यति नै छन् । र मान्छे भित्र मानवता भन्दा बढी दानवताले घर गरेको छ । मानिस पैसाको पछाडि पागल भएका छन् ।
पहिला मानिस मानिस हुन्थ्यो अहिले मेसिन सरह बनेका छन् । परिवारमा झगडा, एकले अर्कालाई हेर्न नचाहनु, एकले अर्काको नराम्रो सोच्नु । खै के भइसकेको छ !
म बढि पछाडि र कुनै युगमा जादिन । म कलयुगकै कुरा गर्छु । जुन युगमा म पनि छु । आजदेखि १०० वर्ष पछाडि गयो भने यति सुख सुविधा थिएन । न त यति रोग नै ! मैले पनि सुनेकै भरमा लेख्दैछु । हजुरले पनि पक्कै सुन्नुभएको होला हजुर आमा हजुर बुबा कसैको मुखबाट !
पहिला बाटो थिएन, गाडीको सुविधा थिएन । कहीं जाँदा हिँडेर जानु पर्थ्यो । पछी गएर साईकल, बैलगाडाले मान्छे जानथाले । खानेपानी, बिजुलीको सुविधा थिएन, ठूलो ठूलो महल थिएन । ७ पुर्खा एउटै घरमा बस्नुपर्थ्यो, घरदेखि खेत सबै काम आफैले गर्नु पर्थ्यो । तर पहिलाका मान्छे स्वस्थ्य हुन्थे । उनीहरूको आयु लामो थियो । मानिस निरोग हुन्थे । सानो तिनो केहि हुँदा आयुर्वेदीक पद्धतिको प्रयोग गर्थे । मान्छेसँग समय थियो, वृद्धाहरुको कुरा सुनिन्थ्यो, आदर सत्कार थियो, परिवारमा हुँदा झै–झगडा त अलिकति भैनैहाल्छ तर पनि सबै एक साथ हासीखुसि बस्थे ।
संस्कार थियो, बच्चाहरूलाई पालन पोषण गर्न सजिलो हुन्थ्यो, गाईको शुद्ध दुध घ्यु र आफैले उब्जाएको स्वस्थ्य साग सब्जी, तरकारी थियो । भगवान प्रति आस्था थियो । मानिस नेचुरल थिए । छानाको घर र प्राकृतिक हावा थियो । छिमेकमा कसैलाई खाँचो पर्दा सबै एक थिए । समाजको अपन्तव महसुस गरिन्थ्यो । दिन रात काट्न अप्ठ्यारो हुँदैन थियो ।
तर अहिले हामीसँग अताह सुविधा छ । लुगा धुनु पर्दैन, एकैछिनमा हामि देश बिदेश पुग्न सक्छौं, पानिको सुविधा छ । तर हामी प्रकृतिदेखी टाढा भइसकेका छौं ।
अहिले मानिस एक ठाउँ बसेर रिमोटको माध्यमले सब थोक गर्न सक्छन् । तर उ दिनानुदिन अपाङ्ग भइरहेको छ । हामीले खाने खाना मिलाबटयुक्त छ । दाई भाई, आमा छोरा, पति पत्नि सबैमा मतभेद र सबैको आफ्नो घर पनि एक्लोपन जस्तो भइसकेको छ । हाम्रो आयु छोटो भइसकेको छ । हामी समाजभन्दा टाढा परिवार देखी अलग या यो भनौं हामी मोबाइलको भइसकेको छौ ।
एकछिन बिजूली कट्यो भने हामीलाई मानसिक तनाव हुन पुग्छ । घरै घरले जमीन भराउ भएर उब्जनी र हावाको स्रोत हराईरहेको छ ।संस्कार हराएको छ । शरीरलाई रोगले निम्त्याएको छ । अहिले हामी सहजै हेर्न सक्छौं । प्रायः हरेक घरमा रोग र रोगि हुन्छन् ।
वृद्धवृद्धालाई त झन जीवन जिउन असहज भइसकेको छ । अब तपाईं नै भन्नुस् र एकछिन सोच्नुस् । पहिले ठीक थियो या अहिले राम्रो छ ?
जीवनको सबभन्दा ठूलो सत्य भनेको मृत्यु हो । आज न भोलि सबैलाई यो संसारबाट बिदा हुनैपर्छ । मानिस जबसम्म बाँच्छन्, खुसि र सुखि भएर बाँच्नु भनेकै स्वर्ग समान हो । जीवन जिउनलाई सुख नितान्त आवश्यक हो र सुखको लागि आत्मशान्ति चाहिन्छ ।
पहिले सुविधा थिएन, अहिले खुसि छैन् जस्तो अनुभूति हुन्छ । पहिले वृद्धा आश्रम थिएन अहिले हरेक सहरमा वृद्धाश्रम मज्जाले हेर्न सक्छौं ।
हामी आज पनि जुन हेल्थ र वैज्ञानिकका कुरा गर्छौ त्यो पनि कतियौं वर्ष पुरानो नै हो । हाम्रो पुर्खाले गरेका कुरामा फरक यति छ कि हामी अहिले आफूलाई किताबी विद्वान ठान्छौं ।
उहाँहरू आफैमा विद्वान र संस्कारको पुजारी थिए ।
पहिला भनिन्थ्यो घामबाट आउने बित्तिकै पानी खानु हुँदैन अहिले यही कुरालाई हामी वैज्ञानिक र डाक्टरको दृष्टिले हेर्छौं ।
पहिलाका मानिस साइकल चलाउँथे, चक्कीमा आटा पिस्थे, लुगा धुन्थे । अहिले हामी जिममा साइकलिङ गर्छौं ।
पहिले बच्चालाई उसको हजुरआमा हजुरबुवाले रेखदेख गर्नुहुन्थ्यो । अहिले हामी उनीहरुलाई होस्टेलमा राखदिन्छौं । जब कि दुबैको रेखदेखको तुलना गर्यो भने पहिला नै राम्रो थियो ।
पहिलाका मानिस फुर्तिलो हुन्थे । अहिलेका अल्छि । पहिला मेहनत गर्थे । अहिले बिना मेहनतको बढी पैसाको आकांक्षा । अहिले अर्थजुग भइसकेको छ । पैसाको लागि जे पनि गर्न सक्ने, हत्या हिंसा बढिरहेको छ ।
सत्य जानेर पनि अन्जान भइसकेका छन् मानिस ।

