–ज्योति झा, २ फागुन । हाम्रो देश भाषा, संस्कृति, चाडवाड, रितिरिवाज, भेषभुषा, पहिरन, परिकार र गीत संगित लगायत अनेकौं विविधताले सम्पन्न रहिआएको छ । हाम्रो देशको विशेषता यसको सम्पन्नता, यसको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक गौरव हाम्रा विविधतामा झल्किएको छ । हामी लोक संस्कृतिमा धनी छौं ।

तर पछिल्लो समयदेखि युवा पिढीमा पश्चिमि संस्कृतिको बढि प्रभाव देखिएको छ । जसका कारण हाम्रो संस्कृति कहीं न कहीं कुनै न कुनै रूपमा लोप हुँदै गइरहेको छ । हुनत देशी होस् वा विदेशी, हरेक पर्वको पछाडी केहि न केहि कथा वस्तु हुन्छ नै र हामी हरेक पर्वलाई धुमधाम र मनोरञ्जनका साथ मनाउँछौं । चाहे त्यो दशैं, तिहार, भाइटिका, छ्ठ, सरस्वती पूजा नै किन नहोस् ।

तर अहिले बढि चलनचल्तीमा रहेको ‘भ्यालेन्टाइन डे’लाई अहिलेका युवापिढीहरुले ठूलो पर्वको रूपमा बडो मनोरञ्जनका साथ मनाउँछन् । अब कुरा यो आउँछ कि भ्यालेन्टाइन के हो र किन अहिलेका पुवापिढी यसतिर आकर्षित छन त ?

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस जसलाई हामी प्रेम दिवस पनि भन्ने गर्छौ । यसको शुरुवात ईसं २६९ रोमनबाट सुरू भएको थियो । यो दिवससंग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । रोमन सम्राटको पालामा रोमन सम्राट कलोडियस द्वितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्नमा रोक लगाएका थिए । उनको विचारमा प्रेमले मान्छेलाई कमजोर बनाउँछ र सैनिकले प्रेम वा विवाह गरेमा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भने डरले गर्दा कलोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराएर रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको विवाह गराए । र यहि कारणले गर्दा सम्राटले उनलाई पक्राउ गरि मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा हुँदाखेरि सन्त भ्यालेन्टाईको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो र उनले आफ्नो दुबै आखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्विकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो र यहि दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष ज्ञद्ध फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ ।
के प्रेमका लागि कुनै खास दिन जरुरी हुन्छ ? वा के प्रेम प्रेमि प्रेमिका बिच मात्र हुन्छ त ?

प्रेम संसारको हरेक वस्तुमा हुन्छ, चाहे त्यो सजिव वा निर्जिव नै किन नहोस् । प्रेमबाट वञ्चित यो संसारमा कोही छैनन् । मलाइ लाग्छ यो संसारमा सबैभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द नै सायद प्रेम हो । प्रेम मानिस मानिसको बिचमा मात्र नभई मानिस र चराचुरुङ्गी देखि सबै प्रकारका जन्तु र जनावर बिच रहेको देखिन्छ । प्रेम त्यो हो जुन गायकले आफ्नो स्वरसंग गर्छ , प्रेम त्यो जुन लेखकले आफ्नो किताबका अक्षरसंग गर्छ, प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई, त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ कि जबसम्म तिमि छौ म बलिरहेको हुन्छु ।

प्रेम त प्रकृतिमै छ । हाम्रो वरिपरि माटोमा, फूलमा, हावामा, घरमा, पातमा र हजारौं गुनगुनाईने गीतमा छ प्रेम । त्यसैले त भनिन्छ ‘प’ बाट प्रेम, ‘प’ बाट नै प्रकृति र ‘प’ बाट परमात्मा अर्थात परमात्माले बनाएको प्रकृतिको हरेक वस्तुमा प्रेम छ । तर प्रेम शब्द सुन्दा नै हामी के बुझ्छौ त प्रेम भनेको प्रेमि प्रेमिकाको एक अर्कासँग गर्ने माया हो ।

जबकि वास्तविकतामा प्रेम आमाबुबा, लोग्नेस्वास्नी, दाजुभाई, दिदीबहिनी, साथीसंगी सबैसँग हुन्छ । जस्तै हामी प्रेमि प्रेमिकासंग मायाको भावनालाई स्विकार गर्छौ त्यहि प्रेम परिवारजनसँग पनि आदान प्रदान गर्नुपर्ने आवश्यकता रहेको मलाई लाग्छ । किनभने आमा भन्दा बढि माया कसले कसलाई गर्न सक्ला त…..?

हुनत म यति विद्वान पनि छुईन कि प्रेमको परिभाषा म दिन सकुँ तर यति थाहा छ कि प्रेम भावनात्मक र निस्वार्थ हुन्छ । तर आधुनिक माया शारीरिक आकर्षणबाट सुरु भई ओछयानसम्म गई समाप्त हुन्छ । तर पहिलाको माया आँखादेखि सुरु भई शमसानसम्म पुगथ्यो ।
अहिले छाडा रूपमा प्रेमको नाममा एउटा गन्दा खेल भइरहेको हुन्छ । भावनात्मक नभई शारीरिक मेल हुँदो रहेछ । भ्यालेन्टाइनडेको नाममा होटेलको रूम बुक हुँदो रहेछ । आमाबुवाले कमाएको धनको दुरूपयोग हुँदो रहेछ । स्कुलको बच्चादेखि लिएर कलेजका युवायुवतीहरु भ्यालेन्टाईनलाई फ्यासनडेको रूपमा मनाउन थालेका छन् । आफ्ना संस्कृतिलाई छोडेर पश्चिमा संस्कृतिलाई बढावा दिनमा व्यस्त छन ।

म यो भन्दिन कि पश्चिमा संस्कृतिलाई हामी नमनाऔं बल्की हामी हरेक संस्कृतिलाई सम्मान र आदरका साथ अपनाऔं तर आफ्नो पनि संस्कृतिलाई जोगाएर ।

हुन त प्रेम गर्नु पाप होइन इश्वरको वरदान हो तर धोखा दिनु पाप हो, कसैको जिवन बर्बाद गर्नु पाप हो । स्वार्थको लागि मायाको नाटक गर्नु सब भन्दा ठूलो श्राप हो ।

हामीले यस्ता धेरै घटना पनि सुनेका छौं । प्रेम स्विकार नगरेमा वा कुनै बाध्यताले छाडेमा केटीमाथि तेजाब छर्किन्छ, बलात्कार गरिन्छ र अन्त्यमा हत्या समेत गरिन्छ । अब आफै सोच्नुस के यो प्रेम हो त ?

आमाको प्रेम, परिवारको प्रेमलाई त्यागेर वहाँको मान सम्मानलाई लत्याई अरुसँग घर जोडनु प्रेम हो त ? आफैलाई सवाल गर्नुस त एक पटक !

जब कसैसंग प्रेम गर्छौं हामी कसैलाई सोधेर गर्दैनौ तर छोडने समयमा संसारको बहाना दिन्छौ यो कस्तो प्रेम । जसलाई माया गरिन्छ उसलाई दुःख, चोट दिईदैन ।

प्रेम त राधा कृष्ण, सिताराम, रीमियो जुलियट, हिर राँझा, लैला मज्नु, मुना मदनले गरेका थिए एक अर्कासंग निस्वार्थ प्रेम, चोखो प्रेम ।

प्रेम गर्नलाई कुनै दिनको आवश्यकता छैन जस्तो मलाई लाग्छ तर अब रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रोमिस डे, हग डे, किस डे र भ्यालेन्टाईन डे लगायतका ८ दिनमा विभाजन गरि मनाउने गरिन्छ । यो डे हो कि दे बुझ्नै गार्हो भयो मलाई ।

अन्त्यमा म के भन्न चाहन्छु कि प्रेम गर्नुहोस तर कसैसँग खेलवाड होईन, अपमान होईन, विश्वासघात होईन ।

प्रेम दिवसको सबैलाई शुभकामना