जनकपुरधाम, २६ पुस । मानिसहरू आपसमा मिलेर बस्ने स्थान समुदाय हो । समुदाय अर्थात समाज एउटा यस्तो स्थान हो जहाँ विभिन्न आबादी एकजुट हुन्छन् र परस्पर प्रजाति हुन्छन् ।

समाज शब्दले गाँउ, टोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ । समाज भन्ने शब्द अङ्ग्रेजी शब्द societas बाट लिइएको हो । समाज विषयबारे अध्ययन गर्ने शास्त्रलाई समाजशास्त्र भनिन्छ । र, सेवा भन्नाले निस्वार्थ भावले कसैलाई सहयोग गर्नु भन्ने बुझिन्छ । विना कुनै स्वार्थ आफूले सक्दो अरूलाई सहयोग गर्नु नै समाजसेवा हो ।

आहिले समाजसेवा र समाजसेवीको खुबै चलन चल्ती छ । मान्छेहरू आफूलाई समाजसेवी भनाउन खुब रुचाउँछन् ।

पहिले यो बुझ्नु आवश्यक छ ! समाजसेवा हो के ?

कसैको हितको लागि निस्वार्थ काम गर्नु नै समाजसेवा हो । जहाँ कुनै नाफा–घाटाको उदेश्य नराखी व्यक्तिगत अथवा सामाजिक रूपमा समाज कल्याणको काम गरिन्छ ।

नेपाल जस्तो विकासोन्मुख देशका लागि विकासको प्रमूख मेरुदण्ड नै समाजसेवा हो । सायद त्यसैले होला आज हामीबीच समाजसेवा शब्द निकै लोकप्रिय बन्दै गएको छ ।

मानव कल्याणको सामाजिक उदेश्य पुरा गर्ने काम गरेपछि नाम पनि उच्च हुने र सबैले सामाजिक कार्यकर्ता भनिदिने विश्वासले धेरै मानिसहरू मानव कल्याणको निमित्त सामाजिक संघ संस्थाको या राजनैतीक संस्थाको ऐक्यबद्धता जनाइ सदस्यता लिन्छन् ।

हाम्रो समाजमा महान र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको छ । हृदयको ढोका बन्द गरेर सम्पति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, हुन त आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, सामुदायिक भवन, विद्यालय र चौतारी बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो ।

तर अहिले समाजसेवाको आडमा नाम र दाम कमाउनेहरु कमि छैन् । अहिले मान्छे सेवा कम र देखाबामा बढि लिप्त भएका छन् । गरीब बच्चालाई केही शैक्षिक सामग्री ,१० किलो चामल ,१० जनालाई लत्ताकपडा दिएर मिडियामा आउनेहरूको बाहुल्य भइसकेको जस्तो लाग्छ ।

सामाजिक सञ्जालमा तस्बिर अपलोड गरिरहेको कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको आजको अवस्था छ । समाजसेवाका नाममा व्यवसायिक उदेश्य पूरा गर्ने उदेश्यले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ ।समाजसेवाको आडमा राजनीतिक अभिष्ट पूरा गर्नेको पनि कमि छैन ।

समाजसेवा आत्मचाहना हो र आत्मसन्तुष्टिका लागी मानिसले गर्ने गर्छ । समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोलि हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश दिनप्रतिदिन बढ्दै गएको छ । सेवाका नाममा २ कोसा केरा, च्युरा, चाउचाउ, १० थान कम्बल दिएर १० जना भन्दा बढीले हात समातेर तस्बिर खिचेको पनि हामीले देखेका छौं । तर के साँच्चिमै समाजसेवीलाई समाचारको ब्यानर, सामाजिक सञ्जालमा फोटो अपलोड र कुनै सभा सम्मेलनमा गएर माला लगाए मात्र उ समाजसेवी हुने हो त ?

यो कस्तो देखाबा ?

सेवाका नाममा भईरहेको यस्ता विकृतिले गर्दा सच्चा मनले सामाजिक क्षेत्रमा लाग्ने व्यक्तिका लागि तगारो बनेको छ । सेवाका नाममा आफ्ना स्वार्थ पुरा गर्नेहरूकै कारण साँच्चै सेवामा समर्पितहरुमा निराशा पैदा गर्नुका साथै मनोबल गिराउने काम भइरहेको देख्न सकिन्छ । एक त चन्दा उठाउनु र त्यसैले दान, पुण्य र सेवा गर्नु तथा आफ्नो तस्बिर सामाजिक सञ्जालमा राख्नु कस्तो अचम्मको सेवा !

मैले यो पनि भनेको छुइन कि समाजसेवी नै छैनन् । अहिले पनि यस्ता धेरै छन जो अस्पतालमा पुगेर आफ्नो परिचय लुकाउँदै बिरामीको उपचार खर्च ब्यहोरेका छन् । अस्पतालमा बेड, लत्ताकपडा, अन्न तथा आवश्यक सहयोग गर्नेहरू पनि देखेका छांै । धेरै त यस्ता पनि छन जो बाढी, अग्नि पीडितका लागि लाखौं करोडौं दान गरेका छन । तर न न्यूजमा आएका छन न आउन रुचाउँछन् । तर यस्ता पनि छन हाम्रो समाजमा जो एक हजार दिएर बाहवाहि लुट्नमा लागेका छन ।

त्यस्ता समाजसेवीलाई मेरो एउटा आग्रह । सहयोग गर्नु छैन् भने नगर्नुस तर यसरी पीडितलाई थप पीडा थप्ने र कसैको गरिबी लाचारीको नाममा आफ्नो रोटी सेक्ने काम बन्द गर्नुस् ।

सेवा आत्माबाट, निस्वार्थ भावले गर्ने कुरा हो । अरूलाई देखाबा गर्ने होइन । खाने मुखलाई जुँगाले छेक्दैन त्यस्तै सच्चा समाजसेवीलाई देखाबा गर्नु पनि उचित होइन् । कि कसो ?