बलात्कार कम गर्न समाजको चरित्र बदल्ने कि ?

–ज्योति झा
जनकपुरधाम, १५ पुस । आजकाल ज्वालामुखी भन्दा पनि तीव्र गतिमा समाजमा बलात्कारका घटनाले तीव्रता पाएका छन् । ‘बलात्कार’शब्द सुन्दा महिला अथवा बालिकामाथि हुने कुकृत्य भन्ने बुझिन्छ । यो घटनाले पीडितको जीवन रेखा नै बंग्याइदिन्छ । समाजमा बलात्कार शरीरसँग हुने कुकर्म वा जबर्जस्ती बुझिन्छ । तर वास्तवमा बलात्कार शरीरसँग मात्र नभई आँखा र शब्दले पनि हुन्छ । अब हामीलाई यो बुझ्नु जरुरी छ कि आखिर यस्ता कुकृत्य हुनुको कारण के हो त ?
समाजमा खास गरेर वर्तमान परिवेशमा मान्छेको सोच हुन्छ कि छोटो पहिरन लगाउनु, बढी घुमफिर गर्नु, कसैको नजरमा पर्नु र कसैसँग निर्धक्क भएर कुरा गर्नाले बलात्कारलाई बढावा दिन्छ । तर मेरो बुझाइले यो बलात्कारको कारण कदापि हुन सक्दैन । किनभने यस्तो हुन्थ्यो भने तीन महिनादेखि ७ वर्ष सम्मकी बालिकाको बलात्कार किन ? एउटी वृद्धाको बलात्कार किन ? के उहाँको पहिरनले गर्दा यस्तो हुने हो वा उहाँको निर्धक्क बोलीले ? सायद यो हामीभित्रको संर्कीण मानसिकता हो । जसले महिलामाथि नै दोष देखाउन खोज्छ । पहिरन वा निर्धक्क बोलीले यदि बलात्कार हुन्थ्यो भने सायद सबभन्दा बढी बलात्कारका घटना अमेरिका अथवा बेलायतजस्ता विदेशी भूमिमा हुन्थ्यो न कि नेपाल वा भारतमा ।
हुन त अहिले ७० प्रतिशत कलिलो उमेरकी बालिका (जसलाई हामी अबोध पनि भन्न सक्छौं) बलात्कृत भइरहेकी छिन् । जसको उमेर खास गरेर १५ वर्षभन्दा कम हुन्छ । आखिर के भएको छ हाम्रो समाजलाई ? हामी कता गइरहेका छौँ ? हामी मानवरुपी दावन भएका त छैनौँ ? सानो बच्चा हेर्नेबित्तिकै माया लाग्ने यो मनमा शिकारीको भावना कसरी ? हामी यो किन बिर्सिन्छौँ कि त्यो बलात्कारी पुरुष आखिर जो भए पनि एउटा लोग्ने मान्छे हो, जस्तै बलात्कृत हुने एउटी महिला । आज हामी कसैको छोरी, बुहारी, आमा, बहिनीलाई बलात्कार गर्छौं तर त्यही घटना आफ्नो परिवारमा भइदिए के गर्छौं ? हरेक मान्छेको दुःख, भोक र पीडा एकैनाशको हुन्छ ।

बलात्कार जस्ता जघन्य अपराधलाई रोक्न घरदेखि नै शुरुवात गर्नुपर्ने देखिन्छ । घरमा आमाबुवाले छोराछोरीसँग समान व्यवहार, खानपिन, वार्तालाप गर्नुपर्ने आवश्यक छ । संस्कार छोरीका लागि मात्र नभई छोराका लागि पनि मर्यादा छ भने सिकाउनुपर्यो ।छोरीहरुलाई सानैदेखि उसको मनमा ऊ कमजोर छ, ऊ कसैमाथि निर्भर छ, ऊ अर्काको घरकी हुन् भनेर नसिकाई उसमा आत्मबल, दुनियासँग लड्न सक्ने क्षमता, अत्याचारविरुद्ध आवाज उठाउन सक्ने क्षमतामा विकास गर्न मदत गर्नुपर्ने देखिन्छ । र, त्यति मात्र होइन, समाजले पनि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ ।
छोरी भनेको मात्र मर्यादाको पुत्ला होईन र छोरा भनेको साँढे होईन । जसलाई छुटै छुट छ । विद्यालयमा पनि सेक्स के हो, यसको शिक्षा दिनु जरुरी छ । र, यस विषयमा खुलेर कुरा गर्नु आवश्यक छ । जब हामी कुनै नयाँ चिज हेर्छौं भने मनमा उत्सुकता हुन्छ । त्यस्तै हो सेक्स पनि । कम उमेरका बालकले पोर्न भिडियो हेरेर मानसिकरुपमा आफूभित्र त्यस्ता काम गर्ने कौतुहलता जगाउँछ । बलात्कार रोक्न नशालु पदार्थ (ड्रग्स, रक्सी, चरेश, छाडा र पोर्न भिडियो, अश्लील गीत) बन्देज लगाउनु आवश्यक छ । जसरी सुतेका मान्छे मृत समान हुन्छ, त्यस्तै नशामा बेहोस भएका मानिस पनि मृत समान नै हुन्छ । महिलालाई आत्मरक्षाको ट्रेनिङ लिनु पनि आवश्यक देखिन्छ । जसले गर्दा उनले आफ्नो रक्षा आफैँ गर्न सकुन् । सही उमेरमा विवाह गर्नु पनि त्यति नै आवश्यक छ ।

कानुन मजबुत हुनु महत्वपूर्ण पक्ष
बलात्कारजस्ता जघन्य अपराध रोक्न हाम्रो कानुन मजबुत हुनुपर्ने नितान्त आवश्यक छ । मान्छेमा जब कुनै कुराको डर हुन्छ तब उसले कुनै अपराध गर्नु भन्दा अगाडि डराउँछ । बलात्कारीलाई २–४ वर्षको कैद सजाय वा धरौटी तिराएर छुट होइन बरु आजीवन काराबास वा नपुंशक बनाइनुपर्ने कानुनको निर्माण गर्नु नितान्त आवश्यक देखिन्छ । जसले गर्दा बलात्कारीले बलात्कार गर्नुभन्दा अगाडि सयौँपटक सोचून् । यस्ता कानुनको निर्माण गरिए यो घृणित काम बन्द हुन्छ कि ?
हामीलाई बुझ्नु जरुरी छ कि महिला नै कुनै रुपमा जननी हुन्, जसले हामीलाई जन्म दिएकी हुन् भने कुनै रुपमा बहिनी जसले राखी बाँधेर हाम्रो रक्षाको कामना गर्छिन् । महिला कहिँ कुनै रुपमा छोरी पनि हुन्, जसको कारणले घरमा रौनकता छाएको हुन्छ भने कुनै रुपमा पत्नी जसले जीवनको हरेक मोडमा सही गलतको बाटो देखाउँछ ।
तपाईं महिलालाई देवी भनेर नपुज्नुस् कम्तीमा ऊ पनि एउटा मानिस नै हो भनेर मात्र बुझिदिनुस् र यसको शुरुवात आफैँदेखि गरेर हेर्नुस् । बलात्कार कम हुँदैन त ? एकपटक सोचौँ त !
(लेखक नेपाल पत्रकार महासंघ प्रदेश २ कि उपाध्यक्ष हुन)

